झापा,मंसिर १७ । कोशी टप्पु वन्यजन्तु आरक्ष आसपासका सिम क्षेत्र र तालहरूमा हिउँद लागेसँगै सिम क्षेत्रमा पाइने चराहरू देखिन थालेका छन् । हिमाल पारिका देशबाट जाडो छल्न पानी चराहरु कोशी टप्पु आरक्ष हुँदै तराईका नदी, खोला र तालहरूमा देखिन थालेका हुन् । उत्तरी क्षेत्रका साइवेरीया, रसिया, ताजिकिस्तान, तान्जानिया र तिब्बतबाट आउने पानी हाँसहरु तराईका सिम क्षेत्र र तालहरूमा देखिन थालेको नेचर गाइड तथा चराहरुका जानकार अनिष तिम्सिनाले बताए । तराईका सिमक्षेत्र र तालहरूमा आगन्तुक चराहरूका साथै रैथाने सिलसिले हाँस र हरित हाँसहरूसमेत देखिन थालेका छन् । पानी हाँसहरु मात्रै नभएर चिलहरू पनि बसाइँ सरेर आउने गरेका छन् । बसाइसराइ गरेर आएका पानी हाँसहरु अहिले कोशीटप्पुको सिमक्षेत्र र सुनसरीको बर्जुतालमा बढी मात्रमा देखिने गरेका छन् । चराका जानकार तिम्सिनाका अनुसार खडखडे हाँस, सिन्दुरे हाँस, हरियो टाउके हाँस, सुइरो पुच्छ्ररे हाँस, बिजुला गैरी हाँसहरू बर्जुतालमा देख्न सकिनेछ । तिम्सिनाले भने “जाडो छल्न वर्षौँदेखि आउने पानी चराहरू पहिला जस्तो सिमक्षेत्रहरु नहुँदा चराहरूको बसाइसराइ कम हुँदै आएको छ ।”असोज अन्तिमदेखि बसाइँ सरेर आउने पानीहाँसहरु तराईमा गर्मी सुरु भएपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र पाहुना चराहरू फर्कने गरेका छन् । तराईमा जाडो कम हुँदै जाँदा आगन्तुक चराहरू पनि आफ्नै वासस्थानतिर फर्कने गर्छन् । आगन्तुक चराहरू जाडो यामभरि तराई क्षेत्रमा बसेर बच्चा कोरल्ने बेला भएपछि स्थायी वासस्थानतिरै फर्कन्छन् । यसरी जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराहरूको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने जाडो छल्न अन्य प्रजातिका सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई आदि चराहरू आउने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्