विनोद सापकोटा,
दुधे । सतासीधाम साना किसान कृषि सहकारी संस्था लि. को नवौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शिवसताक्षी नगरपालिका ११ स्थित संयुक्त भूपू सैनिक संघ दुधेको प्राङ्गणमा भएको सभामा सहकारीले पहिलोपटक नाफा आर्जन गरेको प्रतिवेदन सार्वजनिक हुँदा सहभागी सदस्यले ताली बजाएर प्रतिवेदनको स्वागत गरेका थिए । स्थापनाको ९ वर्षसम्म घाटामा रहेको सहकारीले पहिलो पटक शेयर सदस्यलाई लाभांश वितरण गर्नेगरी नाफा आर्जन गरेको सहकारी संस्थाका अध्यक्ष धनबहादुर थेबेले बताए । उनले भने, ‘कोष बाँडफाँटका लागि योग्य १६ लाख २६ हजार ५९२ रुपैयाँ कुल नाफा भएको छ ।’ संस्थाले गत वर्षदेखि आर्थिक प्रगति गर्न थालेको थेबेले बताए । उनले भने, ‘गत वर्ष २ लाख ३३ हजार कुल नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष संस्थाले ५९७.७५ प्रतिशत बढी नाफा आर्जन गर्यो ।

’ सवल र सक्षम नेतृत्व संस्थाले पाएपछि कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु धराशायी नहुने प्रदेश सांसद राधाकृष्ण खनालले बताए । उनले भने,‘यतिबेला केही सहकारी तथा वित्तीय संस्थाहरु संकटमा परेको खबर हामीले सुनेजानेकै छौं । सवल र सक्षम नेतृत्वसहित इमान्दार कर्मचारी संस्थाले पायो भने कुनै पनि सरकारी तथा गैरसरकारी संस्था संकटमा पर्दैन ।यसको उदाहरण भनेको सतासीधाम साना किसान कृषि सहकारी संस्था नै हो ।’

संस्थाले एकाएक नाफा आर्जन गर्न थालेपछि शेयर सदस्य संख्या बृद्धि भएको, ऋण असुलीमा सुधार आएको, क्रमिक बचतमा बृद्धि, लगानी दर बढेको, निष्क्रिय समूहहरू सक्रिय हुन थालेको, शेयर सदस्यहरुमा समूह तथा अन्तरसमूह सुदृढीकरण अन्तरक्रिया कार्यक्रम सञ्चालन तथा निरन्तरता हुन थालेको संस्थाका अध्यक्ष थेबेले बताए । उनका अनुसार यस आर्थिक वर्षमा वडास्तरीय अन्तर समूह गोष्ठी संचालन गर्ने, अनिवार्य पशु बिमा गरिने, आधुनिक कृषि उपकरण खरिद बिक्री गरिने, पशु औषधालय सञ्चालन गरिने, सीप विकासका लागि तालिम, सरकारी शिक्षालगायतका आवश्यक तालिम सञ्चालन गरिने छ । पशु बिमा, पशु स्वास्थ्य उपचार कार्यक्रम, कृषि सहकारी खेती, कृषि उत्पादनलाई व्यवसायीकरण, पशुपालन क्षेत्रमा व्यवसायीकरण, रासायनिक मल बिक्री वितरण कार्यक्रम संचालन गरेर यस वर्षदेखि संस्थाका हरेक कार्यक्रम कम्प्युटराइज सिस्टमबाट कारोबार गरिने र म्यादी जीवन बीमा जस्ता कार्यक्रमहरु सञ्चालन हुने थेबेले बताए ।

संस्थाले साधारणसभाका अवसरमा संस्थामा नियमित दैनिक बचत गर्ने नारायणप्रसाद शिवाकोटी, सामूहिक बचततर्फ टिकादेवी तिम्सिना, कमला पोखरेल, हिरादेवी तिम्सिना, जानुका वस्ती तिम्सिना, रुक्मणी खनाल र मिना थापालाई सम्मान गरेको छ । यस्तै नियमित कर्जा भुक्तानी गर्ने मिना मैनाली र संस्थामा नियमित क्रमिक बचतकर्ता सकुन्तला न्यौपानेलाई पनि पुरस्कृत गरिएको छ । यस्तै संस्थामा एकै घरपरिवारभित्र रही नियमित क्रमिक बचत गर्ने समूह सदस्य सुमन चापागाईं, समृद्धि चापागाई र गायत्री चापागाई पनि सम्मानित भएकी छन् ।

बैंक तथा अन्य वित्तीय संस्थाहरुले कर्जाको व्याजदर दुई डिजिटमा पुर्याएको बेला सतासीधाम साना किसान कृषि सहकारी संस्थाले भने १ डिजिट ब्याजदरमा कर्जा लगानी गरिरहेको संस्थाकी सहायक प्रबन्धक मन्द चापागाईले बताइन् । संस्थाका अध्यक्ष धनबहादुर थेबेको अध्यक्षतामा भएको कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष डिल्लीलाल फेम्बु, साना किसान लघु वित्तीय संस्था बैंक लिमिटेड बिर्तामोडका व्यवसाय प्रबन्धक अधिकृत तीर्थराज ओझा, आँपटारी कृषि सहकारी संस्थाका अध्यक्ष उमानाथ पराजुली, पाँचगाछी साना किसान कृषि सहकारी संस्थाका कार्यवाहक अध्यक्ष जितेन्द्र साहलगायतले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर तिर्न नपर्ने भन्ने समूहका पछाडि नदौडन बैंक तथा वित्तीय संस्थामा जोडिएकालाई अनुरोध गरेका थिए ।

संस्थाका ज्ञानेन्द्रकुमार विकले स्वागत गरेको कार्यक्रमको वित्तीय प्रगति प्रतिवेदन लेखा तथा सुपरीवेक्षण समितिका संयोजक टेकनाथ दंगालले प्रस्तुत गरेका थिए । साधारणसभाको उद्घाटन सत्रको कार्यक्रमको सहजीकरण संस्थाकी सहायक प्रबन्धक मन्द चापागाईले गरेकी थिइन् । गत आर्थिक वर्ष २०७०–०७१मा स्थापना भएको यो संस्थामा ५४० सदस्यको २८ लाख २४हजार ८०० चुक्ता पुँजी रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्