झापा,मंसिर १८ । दशगजा क्षेत्रमा रहेका पूर्वका ४८४ सीमा स्तम्भको मर्मत संभार गर्न थालिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले नेपाल–भारत सीमा नाका छुट्याउने सीमा स्तम्भको मर्मत सम्भार र रंगरोकन कार्य झापाको मेचीनगर–७ स्थित सतीघट्टाबाट शुरु गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेशका डीआइजी अञ्जनीकुमार पोखरेल, कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी राजेश बास्तोला, भारतीय सीमा सुरक्षा बल ४१ बटालियनका नविनकुमार रायले सोमबार बिहान एक संक्षिप्त कार्यक्रमका बीच ९१÷१ पिलरको रंगरोकन गर्दै मर्मत कार्यको शुभारम्भ गरेका हुन् ।


कोशीका तीन जिल्ला झापा, मोरङ र सुनसरीका बिजोर नम्बर पिलरहरूको मर्मत सम्भार र रंगरोकन कार्य झापाबाट सुरुवात गरिएको सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेशका डीआइजी अञ्जनीकुमार पोखरेलले बताए । जोर नम्बर सीमा पिलरहरूको मर्मत सम्भार र रंगरोकनको कार्य भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले यसअघि नै गरिसकेको बताउँदै डीआइजी पोखरेलले भने, ‘बिजोर नम्बर पिलरको जिम्मा विशेष कार्य विधिबाट सशस्त्र प्रहरीलाई दिइएको हो, सोही अनुसार यस अभियानको थालनी गरेका हौँ ।’ ५० प्रतिशतभन्दा बढी क्षति पुगेका (हराएका, भत्किएका, बगाएका) सीमा स्तम्भ सुरक्षा निकायले गर्न मिल्दैन । त्यसको लागि दुवै देशका संयुक्त नापीसहितको टोली फिल्डमा खटिएर मात्र राख्न मिल्ने बताउँदै डीआइजी पोखरेलले भने,‘मर्मत सम्भार र रंगरोकन गरेपश्चात् ६० देखि ७० प्रतिशत सीमा पिलरको अपडेट सशस्त्रसँग हुन्छ ।’

झापामा साना, मझौला र ठुला गरी ३ सय १७ वटा सीमा पिलरको मर्मत सम्भार र रंगरोकन गरिने सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्यालले जानकारी दिए । त्यस्तै मोरङमा ३४ र सुनसरीमा १ स ३३ गरी ४ सय ८४ पिलरको मर्मत सम्भार र रंगरोकन गरिने जनाइएको छ ।


सीमा पिलर मर्मत सम्भार र रंगरोकन शुभारम्भ कार्यक्रममा राष्ट्रिय अनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ, मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी, ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्