झापा, मंसिर २० । झापामा पहिलो पटक सिस्टमिक ल्यूपस एरिथेमैटोसस (एसएलई) रोगबाट एक किशोरीको मृत्यु भएको छ ।

झापा हल्दिवारी २ की १६ वर्षीया किशोरीको मंसिर १२ गते सो रोगबाट मृत्यु भएको हो । उनलाई दुई वर्षअघि सो रोग पुष्टि भएको थियो । सिकिस्त भएपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । त्यहाँ उपचार नभएपछि घर ल्याइएको र घरमै निधन भएको आफन्तले जनाएका छन् ।
झापामा पहिलो पटक एसएलई रोग देखा परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार यसअघि कसैलाई पनि यो रोग लागेको थिएन । नेपालमा पनि सो रोगको संक्रमणका बारेमा त्यति थाहा नभएको उनले बताए ।
भारतमा सो रोग प्रति दश लाखमा ३० जनालाई देखा पर्ने गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । पुरुषको तुलनामा महिलाहरु सो रोगबाट बढी प्रभावित हुने गरेका छन् । एसएलई एक प्रतिरक्षा प्रणालीमा लाग्ने रोग हो । यसमा शरीरको प्रतिरक्षा प्रणालीले रगतमा अधिक मात्रामा एण्टिबडी प्रवाह भई आफैलाई आक्रमण गर्ने गर्दछ । जसले गर्दा जोर्नी, मांशपेसी तथा अन्य अङ्गहरुमा सुजन तथा नस्ट हुने गर्दछ । प्रायःजसो शरीरको मुख्य अंग मुटु, मिर्गौला, फोक्सो, रक्तसञ्चार, मस्तिष्क, जोर्नीलगायतमा असर गर्ने यो एक दीर्घ रोग भएको चिकित्सकहरु बताउँछन् । यो प्राणघातक समेत हुन सक्छ ।