दमक, मंसिर २२ । झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरमा सेवा विस्तार भएपछि विरामीहरुको आकर्षण बढ्दै गएको छ ।

औपचारिक रुपमा १४ महिनाअघि नै सञ्चालनमा आएको आयुर्वेद अस्पतालमा डा. सिद्धार्थ ठाकुर निमित्त निर्देशकको रुपमा आएपछि सेवा विस्तार भएको हो ।

ठाकुरका अनुसार अहिले अस्पतालमा ओपीडीसहितका केही सेवाहरुलाई शुरु गरेर आएका विरामीहरुलाई सेवा प्रदान गरिँदै आएको छ । सकेसम्म निःशुल्क रुपमा औषधिसमेत उपलब्ध गराउँदै आएको उनले बताए ।

५० शैय्याको क्षमताको प्रादेशिक आयुर्वेद अस्पतालमा करारसहित १९ जनामात्र स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेका छन् । ‘कम्तिमा पनि ५० जना जनशक्ति हुने हो भने इमरजेन्सीलगायतका सेवा शुरु गर्न सकिन्छ’ डा.ठाकुरले भने ।
एकैचोटी सेवा विस्तार गर्ने भन्दा पनि दिइरहेका सेवालाई प्रभावकारी बनाउने र सेवा थप्दै जाने आफूहरुको योजना रहेको ठाकुरले सुनाए । ‘यस आयुर्वेद अस्पताललाई प्रदेशकै प्रेषण अस्पताल तथा भरपर्दो अस्पतालको रुपमा विकास तथा विस्तार गर्ने योजनामा रहेका छौं’ उनले भने ।

जनशक्ति, बजेट र औषधि अभाव भएपनि सेवालाई प्रभावकारी र विस्तारित रुप दिनका लागि लागिपरेको उनले जनाए । ‘थोरै जनशक्ति भएपनि पञ्चकर्म, भिडियो एक्स रे, ल्यावलगायतका सेवा शुरु गरिएको छ’ उनले भने,‘इमरजेन्सी सेवा विस्तारको लागि पनि आवश्यक काम गरिरहेका छौं ।’

दैनिक ५० जनासम्म विरामी आउन थालेको र सेवा विस्तार भएपछि विरामीको संख्या बढ्ने अपेक्षा रहेको उनको भनाई छ । ‘आयुर्वेद उपचार पद्धतिमा जनविश्वास बढ्दो छ तर, त्यस अनुसारको सेवा दिन भने चुनौति छ’ उनले भने ।
अस्पतालमा नै औषधि उत्पादन गर्ने र स्थानीयलाई अस्पतालसंग जोड्ने सोचअनुसार काम भइरहेको उनले जनाए । ‘सकेसम्म यही औषधि बनाएर विरामीलाई दिने लक्ष्य रहेको छ’ उनले थपे ।

नयाँ सेवा शुरु गरिदै
यसैबीच शुक्रबार अस्पतालले पत्रकार सम्मेलन गरेर पाइल्स, फिस्टुला, फिसरजस्ता मलद्वारमा हुने रोगको उपचार शुरु गरिने जनाएको छ । अहिले यसको उपचार गर्ने भन्दै भारतीय चिकित्सक भन्नेहरुले ठगिरहेकाले यसको उपचार सहज रुपमा यहाँ गरिने जनाईएको हो ।

सेवा शुरुवातको अवसरमा आउँदो मंसिर २५ र २६ गते पाइल्स, फिस्टुला, फिसरजस्ता मलद्वारमा हुने रोगको उपचारका लागि अस्पताल परिसरमा नै निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शिविरमा आउने विरामीहरुको जाँच उपचार पूर्ण रुपमा निःशुल्क हुने डा.ठाकुरले बताए । ‘ल्यावदेखि लिएर औषधिसम्म कुनै पनि खर्च लाग्दैन’ उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्