झापा,मंसिर २३ । ट्रयाक्टरमा माटोले छोपेर चिरानी काठ चोरी तस्करी गर्न खोज्ने दुई जना अर्जुनधारामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा ३ बस्ने ४० वर्षीय कृष्ण श्रेष्ठ र सोही ठाउँ बस्ने ३८ वर्षीय रोहित घतानी रहेका छन् । आज बिहान ५ः५० बजेको समयमा अर्जुनधारा ५ बाँसबारीस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको मे १ त ८०५ नम्बरको ट्रयाक्टरलाई गोप्य सूचनाको आधारमा प्रहरी चौकी शनिश्चरेबाट खटिएको टोलीले रोकी चेकजाँच गर्दा माटोले छोपेर ल्याउँदै गरेको ५फिटको २ थान,६ फिटको ११ थान,७ फिटको १९ थान,८ फिटको २० थान गरी जम्मा ५२ थान अन्दाजी ५४.५क्युफिट सखुवा जातको चिरान काठ फेला परेको थियो ।

काठ ल्याउने श्रेष्ठ र घतानीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई उनीहरुले ९५ हजार रुपैयाँ घुस दिन खोजेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए । घुस दिन खोजेको नगद , २ लाख ७० हजार मूल्य बराबरको काठ र ट्रयाक्टरसहित दुवैलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए । उनका अनुसार काठ , ट्रयाक्टर र दुवैलाई डिभिजन वन कार्यालय बुझाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्