झिलझिले, मंसिर २४ ।झापाको शिवसताक्षी ८ स्थित झिलझिले माध्यमिक विद्यालयका विद्यार्थीलाई जाडोमा लगाउने ट्रयाकसुट वितरण गरिएको छ ।

स्थानीय समाजसेवी युवा क्लबले विद्यालयका छात्र— छात्रालाई ट्रयाकसुट वितरण गरेको हो । शिवसताक्षी नगरको पुरानो समाजसेवी युवा क्लबको सहयोगमा विद्यार्थीले ट्रयाकसुट पाएको क्लबका सल्लाहकार समिति अध्यक्ष राजु त्रिखत्रीले बताए । उनका अनुसार जाडो मौसममा कपडाको अभावमा बिरामी पर्ने समस्यालाई मध्यनजर राख्दै विद्यार्थीलाई ट्रयाकसुट हस्तान्तरण गरिएको हो । सो विद्यालयका कक्षा नर्सरीदेखि ५ सम्मका १३२ जना विद्यार्थीले ट्रयाकसुट पाएका छन् । उनीहरु ट्रयाकसुट पाएपछि खुशी भएका छन् ।

गएको बडादशैंमा समाजसेवी युवा क्लबले झिलझिले बजारमा सांगीतिक तथा सांस्कृतिक मिनी मेलाको आयोजना गरेको थियो । सो मेलाबाट आयोजक संस्थाले १५ लाख ३० हजार रुपैयाँ आर्जन गरेको क्लबका अध्यक्ष मिलन सुब्बाले बताए । उनले भने,‘ हामीले झिलझिले माध्यमिक विद्यालयलाई ५० हजार नगदै दिने योजना बनाएका थियौं । तर, बढ्दो चिसोबाट विद्यार्थीलाई सुरक्षित राख्नका लागि ट्रयाकसुट दिने निर्णय क्लवले गरेपछि पूर्व प्राथमिक तहका २८ र प्राथमिक तहका १०४ जना विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरिएको हो ।’

यसअघि पनि क्लबले वडाको सरस्वती र अरुणोदय प्राथमिक विद्यालय, ९ नम्बर वडाको सतासी प्रावि र वडा नम्बर ११ को मैनाचरी प्राथमिक विद्यालयलाई नगद तथा जिन्सीका सामान प्रदान गरेको थियो । वडा नम्बर ८ का वडा सदस्य विवेक थिंग दोर्जेले समाजसेवी युवा क्लब समाजमा छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताए । समाजसेवीको जस्तो काम अन्य युवा क्लबले पनि अनुशरण गरे समाज रुपान्तरण हुन समय नलाग्ने उनले बताए ।

सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम ढुंगाना, नेपाली कांग्रेसका नगर सदस्य राकेश रिजाललगायतको उपस्थिति थियो । क्लबका पदाधिकारीले आईतबार विद्यालय हातामा पुगेर विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरेको सो विद्यालयका प्रधानाध्यापक खेमराज निरौलाले बताए । अध्यक्षसहित सचिव नरबहादुर सुब्बा, कोषाध्यक्ष शान्ता देवानलगायतले विद्यार्थीलाई ट्रयाकसुट लगाईदिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्