बिर्तामोड, मंसिर २७ । झापा बिर्तामोड–७ खोपबाडीको न्यूस्टार क्लब ताप्लेजुङमा जारी तेस्रो सिरिजंघा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

तेल्लोक माविको खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा पाहुना टोली उदयपुरको ब्रदरहुड एफसीलाई सडनडेथमा पराजित गर्दै न्यूस्टारले दोस्रोपटक फाइनलमा स्थान बनाएको हो ।
निर्धारित समयमा झापा र उदयपुरले गोलरहित बराबरी खेलेका थिए । खेलको निर्णय लिन टाइब्रेकर रोजिएपनि दुवै टोलीले ४–४ गोलको बराबरी गरे । अन्ततः सडनडेथमा न्यूस्टार ५–४ गोलअन्तरले विजयी बन्यो ।

झापाका गोलरक्षक चरी लिम्बू र उदयपुरका गोलरक्षक सन्दिप लिम्बूले एक–एक प्रहार रोकेका थिए । तर, उदयपुरका प्रविण श्रेष्ठको प्रहार गोलपोस्टमा लाग्दै बाहिरिएपछि झापाले फाइनलमा स्थान बनाएको हो । न्यूस्टार दोस्रो संस्करणको उपविजेता टोली हो । आजको खेलको म्यान अफ दि म्याच झापाका कप्तान सनम राई घोषित भए ।

त्येअंसी सिरिजंघा सिं थेबेको ३१९औँ जन्मजयन्तीको अवसरमा तेल्लोक स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल खेल मंसिर २९ गते हुनेछ । विजेताले नगद २ लाख २ हजार २२२ र ट्रफी पाउनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्