झापा, मंसिर २८ । देशमा सतीको श्राप परेको र त्यस श्रापलाई बगाउन १०८ वटा पुराण लगाइने भएको छ ।

धार्मिक अनुष्ठान सेवा समाज बिर्तामोड ५ ले रथयात्रासहितको मेची महाकाली अभियान संचालन गर्दै देशभरि १०८ वटा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको हो । समाजले १७ वटा पुराण सम्पन्न गरिसकेको छ । १८ औ पुराण मेचीनगर नगरपालिका वडा नं ८ सुन्दर टोलको नव दुर्गा मन्दिरमा भोलिदेखि शुरु हुन लागेको आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । समाजले पहिलो पुराण २०७६ पुष १२ गते धनुषकोटी धाममा आयोजना गरेको थियो । ‘देशमा परेको सतीको श्रापा मोचन गर्न र चैतन्य जीवात्माको उद्धारका लागि १०८ वटा पुराण लगाउने संकल्प गरेका छौं ’

पत्रकार सम्मेलनमा समाजका अध्यक्ष पण्डित माधवशरण खनालले भने,‘२०८० सालभित्र पुराणको पूर्णाहुती गर्ने र धार्मिक महोत्सव लगाउने लक्ष्य थियो तर, कोभिडका कारणले लक्ष्यअनुसार काम गर्न सकेनौं ।’ अब निरन्तर रुपमा पुराण आयोजना हुने उनले बताए ।

एउटा पुराण सम्पन्न गर्न करिव ४ लाख रुपैयाँ खर्च हुन्छ । सहयोगीहरुबाट जुटाएर ती सबै पुराण सम्पन्न गर्ने योजना रहेको पण्डित खनालले सुनाए । आचार्य घनश्याम ढकालले १२ वटा पुराण निःशुल्क वाचन गरिदिने वचन दिएका छन् । अधिवक्ता हेमकला कट्टेलले संचालन गरेको कार्यक्रममा सल्लाहकारहरु वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य , हरिप्रसाद तिम्सिनालगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा स्वागत मन्तव्य सचिव भीमप्रसाद मिश्रले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्