झापा,मंसिर २८ । मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलवार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई बिनाशर्त रिहाईको माग गर्दै प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति झापाले आन्दोलन घोषणा गरेको छ ।

पहिलो चरणको आन्दोलनअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा विरोध प्रदर्शनदेखि चक्काजामसम्मका कार्यक्रम छन् । प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले बिहीवार प्रेस विज्ञप्ति जारी गरी शुक्रवार १२ बजे जिल्ला प्रशासन कार्यालय झापा अगाडि विरोध प्रदर्शन गर्ने र शनिवार मध्यान्ह १२ देखि १ बजेसम्म झापा जिल्लाभरि सांकेतिक चक्काजाम गर्ने जनाएको छ । समितिले हिजो निमित्त प्रमुख जिल्ला अधिकारी विश्वनाथ नेपाललाई ज्ञापनपत्र बुझाउँदै पक्राउ परेका चौधरीलाई २४ घण्टाभित्र बिनाशर्त रिहाई गर्न अल्टिमेटम दिएको थियो ।


प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राउ परेका चौधरीलाई पाँच दिनको म्याद थप गरी अभद्र मुद्धामा अनुसन्धान बढाइएको हो । चौधरीलाई अर्जुनधारा ८ स्थित घरबाटै प्रहरीले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्