झापा,मंसिर ३० । चिसो र झाडापखालाका कारण डेढ महिनायता जाजरकोट र रुकुम पश्चिमका ३४ जना भूकम्पपीडितको ज्यान गएको छ । जाजरकोटको बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मध्यरातमा गएको भूकम्पपछि खुला आकाशमुनि रात बिताउन बाध्य पीडितहरूमध्ये जाजरकोटका २९ र रुकुम पश्चिमका ५ जनाको ज्यान गएको हो । जसमा १ महिने शिशुदेखि ८९ वर्षीया वृद्धासमेत छिन् । चिसोका कारण भूकम्पपीडित धमाधम बिरामी पर्न थालेपछि मृत्यु हुनेको संख्या बढिरहेको छेडागाडस्थित आधारभूत अस्पतालका डा. प्रिय शाहीले बताए । चिसोका कारण दैनिक १ सय जति उपचार गर्न आउने गरेको उनले सुनाए । ‘अस्पताल आउनेमा झन्डै ६० प्रतिशत बालबालिका छन्,’ उनले भने, ‘धेरैजसो झाडापखाला, निमोनिया, ज्वरो, रुघाखोकीलगायत समस्याबाट पीडित छन् ।’ भूकम्पले सबैभन्दा बढी क्षति पु¥याएको नलगाड नगरपालिकामा पनि दैनिक डेढ सय जनासम्म बिरामी उपचारका लागि आउने गरेको नलगाड आधारभूत अस्पतालका डा. विशाल उप्रेतीले बताए । रामीडाँडामा भूकम्पमा परी ९० प्रतिशत घरमा क्षति पुगेको थियो भने चार जना घाइते भएका थिए । तर त्यसपछि एकै गाउँका १४ जनाले चिसोकै कारण ज्यान गुमाउनुपरेको छ । बारेकोट गाउँपालिका प्रमुख वीरबहादुर गिरीका अनुसार यहाँको तापक्रम अहिले एक डिग्रीमा झरिसकेको छ । चिसो ह्वात्तै बढेपछि बिरामीको संख्या पनि बढ्न थालेको छ । ‘त्रिपालमुनि ओत लाग्दै आएका १४ जनाको मृत्यु भइसकेको छ । चिसोले बिरामीको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘अस्थायी टहरा बनाउने काम भइरहे पनि धेरै परिवारको अझै त्रिपालमुनि कष्टकर बसाइ छ । भौगोलिक विकटले कतिपय ठाउँमा अझै पर्याप्त राहत सामग्री पुग्न सकेको छैन । त्रिपालमुनि बस्दै आएका वृद्धवृद्धा र बालबालिकालाई तातो लुगा र राम्रो ओतको खाँचो छ ।’ प्रमुख गिरीले चिसोका कारण दमका बिरामी र दीर्घरोगी बढी जोखिममा रहेको बताए । ‘हामीले भ्याएसम्म चिसोबाट जोगाउने प्रयास गरिरहेका छौं,’ उनले भने । गाउँपालिका प्रमुख गिरीले अस्थायी टहरा बनाउन रकम वितरण सुरु भइसके पनि लाभग्राहीको संख्या यकिन गर्न समय लागेको बताए । ‘अस्थायी टहराका लागि अनुदान दिन पनि लाभग्राहीको संख्या यकिन नहुँदा ढिला भएको छ,’ ‘मापदण्डअनुसार आफैं टहरा बनाउन भनेका छौं । यसरी बनाएकालाई अनुदान पाउने व्यवस्था मिलाउँछौं ।’ तर राहत र अनुदानअघि अस्थायी बसोबासको व्यवस्थासमेत नहुँदा स्थानीयको दैनिकी निकै कष्टकर छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्