झापा,पुष ४ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ। आयोगका अनुसार माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि कूल २०४७ जना मतदाताको नामावली स्वीकृत भएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ। सोही व्यवस्थाअनुसार प्रदेशसभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जनागरी कूल २०४७ जनाको नामावली स्वीकृत भएको हो। स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेशसभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको आयोगले जनाएको छ। मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १९ रहेकाले प्रदेशसभा सदस्यको कूल मतभार २९.०९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८.४६२ गरी जम्मा ५७.५५९ मतभार रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्