बिर्तामोड, पुष ४ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईले समुदायप्रति लक्षित गरी दिएको अभिव्यक्तिप्रति धेरैले आलोचना गरेका छन् । यस्ता भनाइले सामाजिक विचलन आउनसक्ने भएकाले बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले कुनै पनि जाति समुदायलाई लक्षित गरी दोष नलगाउन प्रसाईलाई आग्रह गरेका छन् ।

प्रसाई नेतृत्वको अभियानले आज बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा व्यवसायीका प्रतिनिधि न्यौपानेले एकाध जनाले गल्ती गर्दैमा सिंगो जाति समुदायलाई नै आक्षेप लगाउनु उचित नभएको भन्दै त्यस किसिमको अभिव्यक्ति नदिन बीएण्डसी हस्पिटलका संचालकसमेत रहेका प्रसाईलाई आग्रह गरेका थिए ।

‘ एउटै समाजमा सदियौदेखि विभिन्न जाति समुदाय मिलेर बसेका छन् ’ उनले भने,‘त्यसमा पनि व्यापार व्यवसायमा प्रत्यक्ष संलग्न ती समुदायलाई आक्षेप नलगाउन म आग्रह गर्न चाहन्छु ।’ प्रसाईले मारवाडी समुदायलाई लक्षित गरी केही समयदेखि विभिन्न अभिव्यक्ति दिँदै आएका छन् ।

बिर्तामोडमा वर्षौ अघिदेखि बसोबासरत मारवाडी समुदायका मानिसहरु त्यस्ता भनाईबाट दुखित भएको न्यौपानेले बताएपछि प्रसाईले समग्र मारवाडी समुदायप्रति आफूले लान्छना नलगाएको स्पष्ट पारे । वर्माबाट आएका १९ परिवारको गलत क्रियाकलापप्रति मात्र आफ्नो प्रहार भएको प्रसाईको भनाई थियो । सबै मारवाडी समुदायप्रति आफ्नो अभिव्यक्ति लक्षित नभएको भन्दै प्रसाईले बिर्तामोडका पुराना मारवाडी समुदायलाई चोट पुर्याउने आफ्नो मनसाय नरहेको स्पष्ट पारे ।

बिर्तामोड उद्योग वाणिज्य संघमा करिव ६ हजार व्यवसायी आवद्ध छन् । त्यसमध्ये मारवाडी समुदायका करिव ७ सय रहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्