झापा , पुष ५ । भारतको चर्चित शो इन्डियन आइडलमार्फत विश्वभरका दर्शक र स्रोताको मन जितिरहेकी मेनुका पौडेललाई सम्मान गर्न हल्दिवारीवासीहरु व्यग्र प्रतीक्षामा छन् ।

हल्दिवारी गाउँपालिका वडा नं ४ जलथल बडावारी निवासी मेनुकाले इन्डियन आइडलमा पाइरहेको सफलताबाट गौरवान्वित र हर्षित भएका स्थानीयवासीले उनलाई स्वागत सम्मान गर्ने तयारी थालेका छन् ।‘हाम्री चेली मेनुकालाई इन्डियन आइडलमा भाग लिनुभन्दा अघि नै हामीले नगदसहित सम्मान गर्ने कार्यक्रम राखेका थियौं’हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले भने,‘झन् इन्डियन आइडलमा उहाँले गौरवमय इतिहास रचिरहँदा कतिबेला सम्मान गरौंजस्तो हतारो भइरहेको छ ।’ आफ्नै गाउँकी चेलीले यसरी विश्वभर आफ्नो विलक्षण प्रतिभाले कीर्तिमान राख्दै गएकोमा हल्दिवारीबासीहरु गौरवान्वित भएको उनले बताए ।

मेनुकाले इन्डियन आइडलको उपाधि जित्नेमा आफूहरु विश्वस्त रहेको बताउँदै अध्यक्ष लिङ्देनले इन्डियन आइडलबाट फर्किएपछि गाउँपालिकाले उनलाई फूलमाला र अविरजात्रासहित भव्य सम्मान गर्ने कार्यक्रम राखेको जानकारी दिए । हल्दिवारी गाउँपालिकाले मेनुकालाई सानैदेखि प्रोत्साहन गर्दै आएको छ ।‘मेनुकाको हरेक कार्यक्रममा म सहभागी भएको छु ’लिङ्देनले भने,‘उहाँको गायन र आत्मविश्वास देखेर हामी चकित थियौ।’

१९ औँ एशियाली खेलकुदमा कांस्य पदक जित्ने नेपाली महिला कबड्डी टोलीकी खेलाडी हल्दिवारीकी अनुजा कुलुङ राईसंगै मेनुकालाई सम्मान गर्ने गाउँपालिकाको कार्यक्रम थियो । बडादशैको अवसरमा आयोजित त्यस कार्यक्रममा मेनुका उपस्थित हुन सकिनन् । गाउँपालिकाले खेलाडी अनुजालाई ४५ हजार नगदसहित सम्मान गरेको थियो । गाउँपालिकाले मेनुकालाई नगदसहित सम्मान गर्न त्यतिबेलै बजेट छुट्याइसकेको अध्यक्ष लिङ्देनले बताए । उनले मेनुकालाई भोटिङका लागि गाउँपालिकाको पहलमा अभियान संचालन गर्ने जानकारी दिए । दुर्गा माध्यमिक विद्यालय गरामनीमा बसेर अध्ययन गरेकी मेनुकाले सानैदेखि गाउँमा भजन गाउने गर्थिन् । उनी बडावारीको पाथीभरा कीर्तन मण्डलीकी सदस्य हुन् । त्यही कीर्तन मण्डलीमा रहेर भजन गाउँदादेखि नै मेनुकाको भविष्य उज्ज्वल देखेको एकैठाउँमा घर भएकी हल्दिवारी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले बताइन् । ‘मेनुकाको गला राम्रो छ ,बोलीवचन,संस्कार राम्रो छ ’ उनले भनिन् ,‘सबैले माया गरेका छौं ,सहयोग गरेका छौं ,उनलाई जिताउन सक्दो सहयोग गर्छौं ।’

मेनुकालाई कार्यक्रममा चिनेका निर्णायक र अतिथिहरु जति भावुक बन्छन् , त्यसभन्दा धेरै स्थानीयहरु रोइरहेका छन् । बडावारीमा प्रोजेक्टरमार्फत मेनुकाको कार्यक्रम हेर्दा आफन्त र छरछिमेकलाई आँशु थाम्न गाह्रो परिरहेको उनलाई सानैदेखि चिनेका स्थानीय कृष्णसागर अंग्रेजी विद्यालयका संस्थापक योगेश कार्कीले बताए । उनले मेनुकाको कार्यक्रम हेर्नको लागि बडावारीमा प्रोजेक्टरको व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्