झिलझिले , पुष ५ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेमा रहेको चौतारी बचत तथा ऋण सहकारी संस्थाले सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अंक ल्याउने एकजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।


कनकाई माध्यमिक विद्यालयबाट कक्षा १२ मा सर्वोत्कृष्ट अंक ल्याउने चौतारी बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य राम भेटवालका छोरा सम्रेशलाई संस्थाले नगद १० हजार छात्रवृत्ति प्रदान गरेको हो । उनले गत शैक्षिक सत्र २०७९–०८० मा चौतारी बचत तथा ऋण सहकारी संस्थाका १९५२ जना शेयर सदस्यका छोराछोरीमध्ये सर्वोत्कृष्ट ३.७५ जीपीए ल्याएका थिए ।

सहकारीले प्रत्येक वर्ष शेयर सदस्यका छोराछोरीमध्ये एकजनालाई सदस्य प्रोत्साहन कार्यक्रमअन्तर्गत आंशिक छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।

सदस्य प्रोत्साहन कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको संस्थाले जनाएको छ । त्यसमध्ये शैक्षिक क्षेत्रअन्तर्गतको यो कार्यक्रमको छात्रवृत्ति बिहीवार वितरण गरिएको संस्थाका व्यवस्थापक विवेक राईले जानकारी दिए ।

चौतारी सहकारीले वर्षेनि शेयर सदस्यबाहेक पनि सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम संचालन गरिरहेको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरिरहेको संस्थाका व्यवस्थापक राईले जानकारी दिएका छन् ।

सहकारीको कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष धनबहादुर राई, सहसचिव राजेश पोखरेल, सञ्चालक समिति सदस्य आइतराज लिम्बू, सहव्यवस्थापक दिलकुमार राईलगायतले सम्रेशलाई नगद तथा सम्मानपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्