बिर्तामोड, पुष ५ । बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ ।

बिर्तामोड नगरपालिकाले गएका वर्षहरुमा जस्तै यस वर्ष पनि बिहीवारदेखि बन्ध्याकरण शिविर सुरु गरेको हो ।
चार दिनसम्म सञ्चालन हुने शिविरमा नगरपालिका क्षेत्रभित्रका सबै वडाबाट सामुदायिक कुकुर समातेर ल्याउने र बन्ध्याकरणसंगै रेबिज विरुद्धको भ्याक्सिन तथा आवश्यकताअनुसार अन्य औषधी उपचार गरेर छोडिने पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । हाम्रो भेटेरिनरी सेवा सहकारी संस्थाका प्राविधिक सहयोग रहेको शिविरमा यो पटक २ सय ५० भन्दा बढी कुकुरको बन्ध्याकरण गरिने योजना रहेको छ ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्तामोडमा हरेक वर्ष शिविर सञ्चालन गर्दै आएपनि कुकुरको प्रकोप बढेकोले धेरै उजुरीहरु आउने गरेको बताइन् । सामुदायिक कुकुरले बाहिर बाँधेका बाख्राका पाठा, गाईलाई टोक्ने, मानिसलाई नै आक्रमण गर्ने गरेको र उनीहरुबाट रेबिजसमेत सर्ने भएकोले समस्या समाधानका लागि शिविर प्रभावकारी रहेको धारणा राखिन् ।

बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ । हालसम्ममा करिब २ हजार एक सयभन्दा बढी कुकुरलाई बन्ध्याकरण गरिएको जनाइएको छ । पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख दाहालले छिमेकी पालिकाहरुले पनि हरेक वर्ष अनिवार्यरुपमा शिविर आयोजना गरेमात्रै सामुदायिक कुकुर नियन्त्रण गर्न सकिने बताइन् । शिविरमा २ जना डाक्टरसहित १८ जनाको टिम खटिएको छ ।

शिविर उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, कार्यपालिका सदस्य सीता ढुङ्गाना, संगिता सिवा, वडा नम्बर ८का वडा सदस्य अग्निप्रसाद सिटौला, नगरपालिकाका अधिकृत मेघराज बाँस्तोला, हाम्रो भेटेरिनरी सेवा सहकारी संस्थाका अध्यक्ष डाक्टर दिलिप सापकोटालगायतको उपस्थिति रहेको थियो । शिविर पुष ८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्