वातावरण मन्त्री उप्रेतीलाई कालो झन्डा
इलाम, पुष ५। नेकपा माओवादी केन्द्रले संचालन गरेको तीन महिने पार्टी रुपान्तरण अभियानअन्तर्गत माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रवार मोरङको मिक्लाजुङ गाउँपालिका आउने भएका छन् ।
माओवादी केन्द्रको मिक्लाजुङ गाउँपालिका कमिटीको आयोजना इलाम जिल्लाको सीमा क्षेत्र मिक्लाजुङको वडा नम्बर ५ मा कार्यक्रम हुने भएको हो । अभियानअन्तर्गत अध्यक्ष दाहाल सातवटै प्रदेशका ७ वटा वडामा जाने योजनाअनुसार कोशी प्रदेशअन्तर्गत मिक्लाजुङ गाउँपालिका आउने भएको नेकपा माओवादी केन्द्रका इलाम इञ्चार्ज कुलप्रसाद साम्बा (कुशल)ले बताए ।
मिक्लाजुङमा दाहालले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्ने बताइएको छ । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मुल नाराका साथ आमसभा आयोजना गरिने भएको छ । आमसभामा दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति मोरङले दाहालको कार्यक्रममा प्रदेशका मन्त्री र सांसदहरुलाई सहभागी नगराउन आग्रह गरेको छ । संघर्ष समितिका अध्यक्ष रामभक्त कुरुङ्बाङ, सचिव जयराज संयोग लिम्बूले विज्ञप्ति जारी गरी आफ्नो आग्रहलाई अस्वीकार गरिए कालो झण्डासहित विरोध प्रदर्शन गर्न बाध्य हुने चेतावनी दिएका छन् । माओवादी केन्द्रले भने अध्यक्ष दाहाल आउने कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रदेशका मन्त्री र सांसदहरु सहभागी नगराउने जनाएको छ ।
यसैबीच माआवादी कोटाबाट पर्यटन, वन तथा वातावरण मन्त्री बनेका गणेश उप्रेतीलाई बिहीवार पहिचानवादीहरुले मोरङको केराबारीमा कालो झन्डा देखाएर विरोध गरेका छन् ।
मन्त्री उप्रेती इसाईहरुको क्रिसमस कार्यक्रममा केराबारी पुग्दा प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समिति केराबारी गाउँपालिका समितिले कालो झन्डासहित विरोध प्रदर्शन गरेको थियो ।