झापा,पुष ७ । नेपालगन्ज टेक्निकल कलेजमा कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेका बर्दियाका विद्यार्थी कर्णबहादुर बुढाक्षेत्रीले बनाएको मोबाइल एप ७० लाख रुपियाँमा बिक्री भएको छ । बर्दिया बाँसगढी–५ का २२ वर्षीय क्षेत्रीले बनाएको पिकअप लाइन्स नामक मोबाइल एप ७० लाख रुपियाँमा इजरायली कम्पनी राउन्ड्स एआई लिमिटेडले खरिद गरेको कलेजले जानकारी दिएको छ । नेपालगन्ज टेक्निकल कलेजका प्रबन्ध निर्देशक किशोरकुमार पाण्डेले दिएको जानकारी अनुसार कलेजमा अध्ययन गरेका विद्यार्थी क्षेत्रीले बनाएको मोबाइल एप ५३ हजार अमेरिकी डलरमा इजरायली कम्पनी राउन्ड्स एआई लिमिटेडले खरिद गरेको हो । मोबाइल एप तयार गर्ने विद्यार्थी क्षेत्रीले फोनमा कुरा गर्दै पिकअप लाइन्स एपले साथीभाइ आफन्तसँग मिठा, रमाइलो, सम्झनालायक कुराकानी गर्न सहयोग गर्ने जनाउँदै यसका लागि एपमा पिकअप लाइनहरूको सङ्ग्रह राखिएको बताए उनले एन्ड्रोइड ५.१ भन्दामाथिको भर्सनमा चल्ने यो एपलाई गत वर्ष अर्थात् २०२२ नोभेम्बरमा गुगलप्ले स्टोरमा अपलोड गरिएको जनाउँदै छोटो समयमा नै एपलाई धेरैले मन पराएपछि एक वर्षको अवधिमा पाँच लाखभन्दा बढी पटक डाउनलोड भइसकेको बताए  । एपभित्र चिजी, रोमान्टिक, क्युट, फन्नी आदि क्याटगोरीका पिकअप लाइन रहेका छन् । क्षेत्रीले भने, “जसलाई सजिलै कपि गरेर एसएमएस, इमेल अथवा मेसेन्जरमा प्रयोग गर्न सकिन्छ । विशेष गरेर अफ्रिका र युरोपका प्रयोगकर्ता एपमा बढिरहेका थिए र आम्दानी पनि क्रमशः बढिरहेको थियो ।” सोही समयमा राउन्ड्स एआईले सुरुमा निकै कम रकममा एप किन्ने प्रस्ताव गरेको जनाउँदै क्षेत्रीले पछि ५३ हजार डलरमा एप खरिद गरेको बताए । क्षेत्रीको ‘काकी डेभलपर्स’ को नाममा प्ले स्टोरमा एक दर्जनभन्दा बढी एप उपलब्ध छन् । तीमध्ये केही एप एक लाखभन्दा बढी पटक डाउनलोड भइसकेका छन् । उनले बनाएका केही चर्चित एपमा क्लास ९ नेपाली गाइड बुक, क्लास ८ नेपाली गाइड बुक, नेपाली व्याकरण, नेपाली सामान्य ज्ञान अफलाइनलगायत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्