रमेश नेपाल,
आमाको ममताबाट हुर्किने बालक बुबाको संघर्ष हेर्दै अघि बढ्छ । त्यसैले त बुबाको अर्थ यो ‘ब्रम्हाण्ड’भन्दा व्यापक छ ।
सामाजिक सञ्जालमा भेटिने प्रेरक कुरामध्ये एक यस्तो प्रेरक कुरा भेटियो । जसले सबैलाई एक पटक अड्याएर सोच्न बाध्य बनाउँछ । त्यहाँ भनिएको थियो, ‘बुवाको महत्व बुझ्नु छ भने बुवा नभएकाहरुलाई सोध ।’

पहिलो अंकमा मैले बा शब्द के हो,बा बन्न किन कठिन छ भन्ने बारेमा उल्लेख गर्दै मैले मेरा बाको बारेमा बाको जन्मदेखि विवाहसम्मका संघर्षहरुको वृतान्त लेखेको थिएँ । दोस्रो अंकमा मैले बाको विवाहपश्चात् म जन्मिँदासम्मको नालिबेली र घरमा छोरा बिरामी भएर सिकिस्त हुँदासम्म कुनै पनि आफन्तले सहयोग नगरेको र आफू एक्लैको प्रयासमा छोराको उपचार गरेर छोरालाई बचाएका मेरा बाको कथा र ब्यथालाई समेटेको थिएँ । आज भने मेरा बाका बाँकी संघर्ष र भोगाइलाई समेट्ने प्रयास गरेको छु ।

मेरा बाको दुःख कम हुने अवस्थै थिएन ।दुःखमाथि दुःख थपिइरहेका थिए ।यसैक्रममा २०४२ साल माघ २ गते मेरो कान्छो भाइको जन्म भयो । हामी ३ सन्तान थियौँ नै, अब भने अझ सन्तान बढेको थियो । मेरा बाको जिम्मेवारी झनै बढेर गएको थियो । ४ सन्तानको पालनपोषणमै आमाको समय ब्यतित हुन्थ्यो । अर्काको अधिया खेती जति नै कमाएपनि अन्त्यमा मंसिरमा आफ्नो घरमा २–४ मन भित्र्याउन पाइन्थ्यो । बाँकी सबै साहु महाजनलाई बुझाउँदै सकिन्थ्यो।अन्य आयस्रोत केही पनि थिएन । जम्माजम्मी आउने आयस्रोत भनेको त्यही अधिया खेती मात्र थियो । बर्षभरि छोराछोरीको रहर पूरा गर्न बिहान बेलुका हातमुख जोड्न र चाडबाड बनाउन साहुहरुसँगै ऋण काड्नु पर्थ्यो बालाई । त्यो पनि मंसिरमा धान दिने शर्तमा । साहुहरु मंसिरमा खलामै पुग्थे धान लिन । सायद पछि पाईँदैन भनेर होला।

अब भने हामी तीन सन्तान अर्थात दाजु,दिदी र म स्कुल जान थालिसकेका थियौँ ।स्थानीय ज्ञानदीप प्रा. वि.मा पढ्थ्यौँ हामी । घरबाट नजिकै थियो सो विद्यालय । स्कुल जाने सामान्य पोशाकको पनि अभाव हुन्थ्यो हामीलाई । तर पनि, बाले ऋण लिएरै भएपनि हाम्रो त्यो अभावलाई पूरा गरिदिनु हुन्थ्यो । यस्तै यस्तै प्रकारले मेरा बाले सन्तानको खुशी पूरा गर्न आफ्ना इच्छाहरुलाई अनि आफ्ना रहरहरुलाई तिलाञ्जली दिँदै सन्तानको खुशीमै रमाउन थाल्नु भयो ।दिनहरु बित्दै गए । खेती किसानबाट बाको मन उड्दै गयो ।जति मेहनत गरेपनि रातदिन २४ सै घण्टा खेतैमा घोटिएपनि उब्जाएको अन्नले २ महिना पनि नपुग्ने स्थिति भएपछि बाले खेती किसानबाट विश्राम लिने निर्णय गर्नु भयो । अनपढ मान्छे खेती छाडेपछि के गर्ने अब भने फेरि बालाई तनाव शुरु भयो ।त्यसपछि बाको जागिरे जीवन शुरु भयो ।

खेती छाडेपछि बा शनिश्चरे आउनु भयो । त्यो बेला झापामा नाम कहलिएका दुई राईस मिल नेपाल मिल र कृष्ण मिल शनिश्चरेमा थियो ।नेपाल मिल कसको थियो मलाई थाहा छैन । तर, कृष्ण मिल बुढाथोकी परिवारको थियो ।बुवाको ईमान्दारिता देखेर होला र उनकै खेती कमाउँदा होस् वा उनकै घरमा ईमान्दारिताका साथ काम गरेकाले बाको ईमान्दारितालाई कदर गर्दै सो कृष्ण मिलमा बालाई चौकीदारको जागिर प्राप्त भयो । अब भने बालाई केही खुशी प्राप्त मिलेझै भयो । सँधैभरि खेती किसान गरेको मान्छे । त्यो जागिर दिनभरि बस्नुपर्ने, राति मात्र जागा हुनु पर्ने ।दिनभरि सुत्नु पर्ने,दिनभरि खाली हात नबस्ने मेरा बाको मन कहाँ मान्थ्यो र ! अब भने त्यो जागिरलाई निरन्तरता दिँदै फेरि पनि उनै बुढाथोकीको १ बिगाह जमिन शनिश्चरेमै अधिया कमाउन थाल्नु भयो । एक्लै बसेर जागिर पनि खाँदै, खेती पनि गर्दै आउनु भयो ।बालाई त दुःख नै थियो । अब भने हामी सन्तानलाई चाहिँ सुखका दिन आएका थिए ।अब चाहिँ पैसा पनि हुन्थ्यो बासँग । अनि खानलाई अन्न पनि । हाम्रो बसाई ज्यामिरगढी, बाको बसाई शनिश्चरे । कहिलेकाहिँ स्कुल बिदा हुँदा हामी पनि आउँथ्यौ शनिश्चरे ।त्यतिखेरसम्म हाम्रो घरमा अर्को सन्तानको रुपमा माईली बहिनीको पनि जन्म भईसकेको थियो । त्यो बेला“जसको गोठ उसको बन, जसको सन्तान उसको धन”भनेरै होला सायद प्रायः सबैको सन्तान धेरै नै हुने गर्दथ्यो । हुन त, त्यतिखेर परिवार नियोजन सम्बन्धी ज्ञान नभएरै होला पनि ।

केही बर्ष खेती र जागिर दुबैतिर समय दिनु भएका मेरा बाको जीवनमा अब भने केही खुशीका क्षणहरु आए ।त्यो के हो भने २०४८ सालतिर भुटानी शरणार्थीहरु सम्बन्धी हेर्ने संस्था अक्सफाम नेपालले आफ्नो कार्यालय दमकमा स्थापना गरेको थियो ।बाको ईमान्दारिता देखेर उनै केशबकुमार बुढाथोकीकी श्रीमती गीतादेवी बुढाथोकीको सिफारिसमा बाले सो संस्थामा सिनियर गार्डको रुपमा जागिर पाउनु भयो ।त्यो जागिर हाम्रो परिवारको निम्ति अमृत समान भयो ।अब भने बाको जीवनमा सुखका दिन शुरु भए ।तलब पनि राम्रो, अन्य सेवा सुबिधा पनि अत्यन्तै राम्रो ।धेरै ठाउँमा भ्रमणको अवसर पनि पाउनु भएको थियो बाले ।आफूलगायत सम्पूर्ण परिवारको उपचार खर्चसमेत उपलब्ध गराएको थियो सो संस्थाले । हाम्रो परिवार सुखका साथ चलिरहेको थियो । बाको मुहारमा हाँसो छाउन थालेको थियो । तर, हाम्रो त्यो खुशी सायद भगवानलाई मन परेन होला । सायद बाको मुहारको हाँसो भगवानलाई मन परेन होला । जागिर खाएको ३ बर्षपछि नै बा बिरामी पर्नु भयो । बिराम पनि कस्तो भने त्यत्रो दुःख गर्दा पनि कहिल्यै केही नभएको मेरा बा डिप्रेशनमा जानु भयो ।बालाई बिरामले अत्यधिक च्याप्न थालिसकेको रहेछ । बा बेलुका ८ बजेदेखिको ड्युटी १२ बजे सकेर पैदल हिँड्दै बिहान ६ बजे ज्यामिरगढीस्थित घर आइपुग्नु हुन्थ्यो ।बालाई सम्झाई बुझाई हामी दमक पठाउँथ्यौं ।त्यतिखेर दाजु ९ कक्षामा पढ्थ्यो ।बाको नामको जागिर दाजुको नाममा सार्न पनि मिल्थ्यो रे ।तर, हामीलाई थाहै भएन ।

एक दिनको कुरा हो, बाले जागिरबाट राजीनामा दिनु भएछ ।बालाई त्यहाँका सरहरुले धेरै सम्झाउनु भएछ । तर पनि, बाको सोच्न सक्ने शक्ति कम भएको कारण बाले उहाँहरुको कुरा मान्नु भएनछ ।सायद अहिले जस्तो मोवाईलको जमाना थियो भने उहाँहरुले हामीलाई सम्पर्क गर्नु हुन्थ्यो होला । तर, सम्पर्क गर्ने कुनै साधन नभएकोले होला अनि बाको जिद्दीको कारण बाको राजीनामा स्वीकृत भएछ र बाले पाउने उपदानस्वरुप रु १ लाख लिएर बा हिड्नु भएछ । बाले लिएको रु ५० हजारमध्ये बा घर आउँदा रु पच्चिस हजार मात्र घर आईपुगेको थियो ।त्यो ५२ सालको ५० हजार भनेको अहिलेको पाँच लाखभन्दा धेरै हो ।त्यो बेला ५० हजारमा हाम्रो गाउँमा एक बिगाह जमिन पाईन्थ्यो ।

जिन्दगीमा धेरै दुःख गर्नु भएका मेरा बा कहिल्यै कसैको चित्त नदुखाउने । मेरा बाको जीवन अब झन् कष्टकर बनेर आयो ।जन्मेदेखि नै दुःख भोग्न थाल्नु भएको मेरा बाको खुशीहरु क्षणिक मात्र भए । मेरा बाले जागिर छाडेपछि हाम्रो परिवारको बिल्लिबाठ भयो ।बाको कमाईमा आश्रित हाम्रो परिवारलाई अब भने बिहान बेलुका हातमुख जोड्न पनि कठिन हुन थाल्यो ।बाको होश नै नहुने । कति बेला आमालाई कराउने, कुट्ने, कति बेला दाजु दिदीलाई कुट्ने, कहिले बाकै भाइहरुसँग झगडा गर्ने,रातभरि एक्लै बर्बराउने । मेरा बालाई भगवानले किन दुःख दिएका होलान् भन्ने लाग्थ्यो मलाई ।तर, सानो थिएँ के पो गर्न सक्थेँ र बाको लागि ! डाक्टर कति देखाईयो,धामी कति हो कति । तर पनि, बा उस्तै ।अलिअलि भएको सम्पति पनि बाकै उपचारमा सिधिएको थियो ।त्यस्तो कष्टपूर्ण जीवन कसैको पनि नहोस् । त्यसपछिका दिनहरु त हाम्रा लागि साह्रै कष्टपूर्ण आयो ।

कुरो २०५२ साल पुष २९ गतेको हो । रातिदेखि नै बालाई बिरामले धेरै च्यापेको थियो । बाले रातभरि कराएर गाउँ नै थर्कमान बनाउनु भएको थियो ।आमालाई पनि कुट्ने कराउने गर्दै हुनुहुन्थ्यो ।दाजुलाई पनि कराइरहनु भा थियो ।पुष २९ गते बिहानै दाजु, जन्तरे काकासँग काकाको ससुराल गएका थिए ।बा पनि रिसले बिहानै बाका कान्छा भाइलाई लिएर शनिश्चरे जानु भयो अर्थात कान्छा काकाले बालाई शनिश्चरे पुर्याइदिनु भएछ ।बा शनिश्चरे पुग्नेबित्तिकै केशबकुमार बुढाथोकीको गाडीमा चढेर ईलाम जानु भएछ ।ईलाम पुगेर बा आफ्नो जन्मभूमि सुम्बेकको बिक्री भन्ने ठाउँ आफ्नो अन्तरे बाकोमा बस्नु भएछ ।हुन त, हाम्रो नेपाली समाजमा मसान्तको दिन घर छोड्नु हुँदैन भन्छन् ।त्यसमा पनि तीनबास पार्नु हुँदैन भन्छन् । तर, त्यो दिन हाम्रो घरमा बा र दाजुले त्यसै दिन घर छोडेर हिड्नु भा अनि तीन बास पनि परेछ ।सायद ‘हुनुहार दैब न टार’ भनेझै भोलिपल्ट माघ १ गते अर्थात माघे संक्रान्तिको दिन जन्मभूमिमा गएर बाले आत्महत्याको प्रयास गर्नु भएछ ।बाले आफ्नै घाँटी रेटेर मर्ने प्रयास गर्नु भएछ । धन्न बाका अन्तरे बाले देखेर हल्ला खल्ला गरेपछि मेरा काईला काकालगायतले बालाई उपचारको लागि काँकडभिट्टास्थित कन्काई नर्सिङ होममा ल्याउनु भयो ।बालाई काँकडभिट्टा ल्याएपछि म पनि पुगेँ त्यहाँ ।बाको अवस्था देखेर रुनुबाहेक मैले के पो गर्न सक्थेँ र ! बालाई त्यो अवस्थामा देख्दा मलाई लाग्थ्यो अब बालाई बचाउन सकिँदैन होला ।अब हामी टुहुरा हुने भयौँ । बा बिना अब कसरी बाँच्ने होला भन्दै सुकसुक रुन थालेको थिएँ । दाजु घरमा थिएन ।माईला काका,काईला काका हुनुहुन्थ्यो बाको साथमा । त्यहाँ बाको उपचार सम्भव भएन । डाक्टरले बालाई भारतको कदमतोलास्थित मेडिकल कलेज लिएर जान सल्लाह दिए ।त्यसपछि बालाई मेडिकल कलेज कदमतोला लिएर गयौँ ।

बेलुका ६ बजे काँकडभिट्टाबाट हिँडेको, लगभग ८ बजेतिर हामी मेडिकल कलेज पुग्यौँ ।त्यो दिन बंगाल बन्द रहेछ । त्यसैले हामीलाई ठाउँ ठाउँमा चेकको कारण समय धेरै समय लागेको थियो ।हस्पिटल पुगेपछि बालाई स्टेचरमा हालेर कहाँ लग्यो लग्यो पत्तै भएन ।ठूलो एरियामा फैलिएको सो मेडिकल कलेज बालाई कहाँ राखेको छ भन्ने जान्नलाई हामीलाई झण्डै झण्डै एक घण्टा लागेको थियो ।बालाई लग्नेबितिकै अप्रेसन थिएटरमा हालिसकेको रहेछ ।त्यो माघको जाडो स्कुल जाने सर्ट र स्कुलकै पेन्टबाहेक अरु कुनै कपडा लगाएको थिईनँ मैले।चिसो भुईँमा यतिकै बसेको थिएँ म । मलाई जाडोको कुनै अनुभूति नै थिएन । मलाई त बाको मुख कतिखेर हेर्नु भन्ने मात्र थियो । काकाहरु खाजा खान बाहिर जानु भयो ।तर, मैले भने तीन दिनसम्म पानीबाहेक केही खाईनँ । किनकि बाहुनको छोरा त्यसमा पनि सिलिगुडीमा केही खानु हुँदैन भन्नुहुन्थ्यो मेरी आमाले । त्यसैले होला सायद मैले ३ दिनसम्म केही नखाएको । ३ दिनपछि दाजु आयो अनि नजिकै दैनिक दश रुपैयाँमा एउटा रुम लिएर दाजुले रुममै पकाउन थालेपछि मात्र मैले खाना खाएँ ।

बाको अप्रेशन गरेको तीन दिनपछि मात्र होश आयो । बाको आवाज आउँदैन थियो । आँखा टुलुटुलु हेर्नु मात्र हुन्थ्यो ।बेला बेला आँशुका धाराहरु बग्थे भने बेला बेला लगाएको सलाईन अनि अनि खानको लागि लगाएको कृतिम नली फाल्न खोज्नु हुन्थ्यो । दाजु र म एकै ठाउँ बसेर रुन्थ्यौ । नेपाली भाषाबाहेक अरु भाषा बोल्न नजान्ने हामीलाई त्यहाँ नर्स र डाक्टरले बंगाली भाषामा भनेका कुराहरु बुझ्न धेरै कठिन हुन्थ्यो। बेला बेला नर्सहरुले गाली पनि गर्दथे । तर, उनीहरुको भाषा नबुझ्ने हामीलाई त्यो गालीको के अर्थ र ! यस्तै प्रकारले १ महिनाको कठिन उपचारपछि बाको उपचार सफल भयो र हामीले बालाई घर ल्यायौँ ।

आवाज भने स्याउँ स्याउँमात्र थियो बाको । त्यो डिप्रेसन ठिक भएकै थिएन ।तर पनि, हाम्रो धेरै प्रयत्नपश्चात् बालाई अलि अलि ठिक बनायौँ ।तर पनि, बेला बेला बाले सुरको कुरा गर्दा हामी छोराछोरीको चिन्ता गर्नु हुन्थ्यो ।मलाई यस्तो भयो मेरा छोरीछोरीको पढाइ के होला भन्ने चिन्ता थियो बालाई ।छोराछोरी के खान्छन् होला भन्ने तनाव पनि थियो ।तर, बेसुरमा हुँदै पुरै घर हल्लाउनु हुन्थ्यो । रोग के हो पत्तै नलाग्ने ।धामी कति देखाईयो देखाईयो ।तर, बाको रोगको बारेमा कसैले पत्ता लगाउनै सकेनन् ।

हाम्रो घरमा खाने अन्न थिएन । अब भने दाजुमाथि हाम्रो परिवारको जिम्मेवारी थियो ।उसले पढाइसँगै कतै काम गरेर हाम्रो परिवारको गुजारा चलाउँथ्यो ।यस्तै प्रकारले दिनहरु बित्दै गए । जति जे गरे पनि, बाको बिराम ठिक भएन ।बाले कमाए जति सबै बाको उपचारमा सकिसकेको थियो ।आमाको गहना बेचेर पनि सकियो ।यतिसम्म भयो कि हामीसँग भएका झर्के थाल,झर्के लोटाहरु पनि बेचेर गुजारा चलाउनु परेको थियो ।गाउँभरि नै हामीलाई कसैले ऐचो पैचो दिँदैननथे ।आफन्तहरुले नै हामीलाई हेला गर्थे।अब भने हामीले त्यो ठाउँँ छोड्ने निर्णय गर्यौ । दाजुले एसएलसी दिएपछि हामीले २०५५ सालमा बसोबास गर्दै गरेको स्थान ज्यामिरगढी छोडेर हाल बसोबास रहेको शनिश्चरे बसाई सरेर आयौँ ।म भने कक्षा १० मा पढ्थे ।आफ्नो कुनै जग्गा थिएन ।त्यहाँ पनि उनै केशबकुमार बुढाथोकीको जग्गामा झुप्रो हालेर बसेका थियौँ ।

तपाईं आफैं कल्पना गर्नुहोस् त, बाले सन्तानका लागि गरेको त्याग, तपस्या र संघर्ष एक दिनको सम्मान र एक सेल्फीले पूरा होला ? बालाई खुशी बनाउन धेरै गर्नै पर्दैन । थोरैबेर सँगै बसेर कुरा गर्नुहोस्, हालखबर सोध्नुहोस्, दुःखसुखको कुरा गर्नुहोस् । योभन्दा ठूलो सम्मान उहाँका लागि केही हुने छैन । कहिँकतै बाको मन दुखाउनु भएको छ भने पनि तपाईको सामिप्यता र सौहार्दपूर्ण सम्बन्धले तपाईहरुबीचको तिक्तता हराएर जान्छ । आजलाई यति नै मेरा बाका कथा ब्यथा । अब अर्को अंशमा बाको अन्तिम नालीबेलीसहित लेख्ने छु ।( क्रमश)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्