झापा,पुष ७ । जाडो याममा विपन्न र असहायलाई पर्नसक्ने अप्ठ्यारोलाई मध्यनजर गरी झापाका विभिन्न स्थानमा कपडा बैंक संचालन गरिएको छ । यसक्रममा बिर्तामोड र भद्रपुरमा कपडा बैंक राखिएको हो ।

बिर्तामोड २ स्थित बेलडाँगीमा स्थापना गरिएको कपडा बैंकमा स्थानीयको भीड देखिएको छ ।वडा कार्यालय परिसरमा स्थापना गरिएको बैंकमा दाताहरुले कपडा सहयोग गरिरहेको वडा अध्यक्ष किशोरकुमार पौडेलले बताए ।गत बुधबारदेखि संचालन भएको कपडा बैंकमा दैनिक २ सयभन्दा बढी स्थानीयले कपडा लिएर जाने गरेका छन् ।

उज्यालो परिवर्तन समाजको समन्वय तथा वडा कार्यालयको आयोजनामा संचालन भएको बैंकमा शनिबार होम हलुवाईले १ सय ७० थान सर्ट,पाईन्ट उपलब्ध गराएका छन् भने उज्यालो चिन्तन चौतारीका प्रोप्राईटर प्रकाश बुढाथोकीले २ सय जोर जुत्ता उपलब्ध गराएका छन् ।

त्यस्तै अन्य व्यवसायी तथा दाताले पनि नयाँ पुराना कपडा, जुत्तालगायतका सामग्री प्रत्येक दिन उपलब्ध गराउँदै आएका छन् । ‘हुनेले दिने नहुनेले लिने अभियान’ अन्तर्गत कार्यक्रम संचालन भईरहेको समाजका सचिव पुष्प पाठकले जानकारी दिए ।
त्यस्तै भद्रपुर १० लेखनाथ चोकउत्तर चन्द्रगढीमा ‘हुनेले दिने नहुनेले लिने’ नामको कपडा बैंकको शनिवार उद्घाटन गरिएको छ ।

मातृ भजन सेवा समिति चन्द्रगढीको आयोजनामा संचालित कपडा बैंकको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले उद्घाटन गरे । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै भजन सेवा समितिकी सचिव ज्योति रिजाल न्यौपानेले विरामी भएर अस्पतालमा जाने तथा गरिब तथा असहायलाई लक्षित गरी निःशुल्क रुपमा कपडा वितरण गर्ने उद्धेश्यले बैंकको स्थापना गरिएको बताइन् । दाताहरुबाट प्राप्त कपडा लक्षित वर्गका बालबालिका, बृद्धबृद्धा, महिला तथा पुरुषलाई उपलब्ध गराउने उनले बताइन् । सुशिला दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पोखरेल, सामाजिक व्यक्तिहरु दुर्गा पाठक , उत्तम पौडेल ,रेखा अधिकारी,गणेश पौडेललगायतले मन्तव्य राखेका थिए । कपडा बैंकमा जाडो तथा गर्मी याममा लगाउन सकिने ज्याकेट, कोट, कुर्था सुरुवाललगायतका कपडाहरु पाईने समितिले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्