बिर्तामोड, पुष ७ । कोशी प्रदेशमै पहिलो पटक बिर्तामोडमा एक महिने जुत्ता चप्पल महोत्सव हुने भएको छ ।

‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यही पुष ९ देखि माघ ९ गतेसम्म कोशी प्रदेशस्तरीय ‘प्रथम बिर्तामोड जुत्ता चप्पल व्यापार महोत्सव २०८०’ आयोजना गर्न लागिएको शनिवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । बिर्तामोडस्थित सिटी सेन्टरमा हुने महोत्सवले स्वदेशी उत्पादन प्रयोगका लागि उपभोक्ताको रुचि जगाउने उदेश्य राखिएको छ । बिर्तामोड सिटी सेन्टर इन्भेष्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सवमा नेपालका ८ वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्राण्ड राखिने भएको छ ।

महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको ब्यवस्था रहने, महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुल्ला रहने रन शुज इन्डष्ट्रिजका प्रवन्ध निर्देशक रुद्र न्यौपानेले बताए । उनका अनुसार मेलामा १५ सयदेखि ७ हजार मूल्यसम्मका जुत्ता चप्पल रहने छ । नेपाली जुत्ता उद्योगी समूहले देशका ६ ठाउँमा जुत्ता महोत्सव संचालन गरिसकेको छ । कोशी प्रदेशमा पहिलो पटक जुत्ता महोत्सव आयोजना गरिएको प्रबन्ध निर्देशक न्यौपानेले बताए । स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्राण्डहरुलाई आम उपभोक्ताहरुको बीचमा परिचित गराउने, उपभोक्ताहरुको वीचमा पुर्याउने र आम उपभोक्ताहरुलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ देशका प्रमुख शहरहरुमा विभिन्न खालका मेला महोत्सवहरु आयोजना गर्दै आईरहेको उनले जानकारी दिए ।

महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरु– रोयल फुटवेयर इण्डष्ट्रिज प्रालिको रोयल शुज, वेश फुटवेयर इन्डष्ट्रिज प्रालिको उत्पादन बीएफ डियर हील शुज , लालीगुराँस फुटवेयर इन्डष्ट्रिज प्रालिको क्रशरोड शुज , शुभकामना फुटवेयरको फस्टवाक शुज , स्मार्ट शुज इन्डष्ट्रिज प्रालिको स्मार्ट शुज , डी. जे. शुज कम्पनीको डीजे शुज , एक्सन फुटवेयर कम्पनीको टुरिस्ट शुज र रन शुज इन्डष्ट्रिज प्रालिको रन शुज गरी ८ वटा कम्पनीको १५ भन्दा बढी ब्राण्डहरुको सहभागिता रहनेछ ।मेलामा ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरु उपलब्ध हुनेछन् ।

पत्रकार सम्मेलनमा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, पर्ल क्रिएसनका संचालक उमेश राउतलगायतको उपस्थिति रहेको थियो । उक्त मेला अवधिभर ३ लाख अवलोकनकर्ताको सहभागिता रहने आयोजक संस्थाले लक्ष्य लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्