झापा, पुष ८ । कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको झापा कनकाई नगरपालिका– ४ त्रिवेणी टोलका ३३ वर्षीय सुवाष राउत स्वदेश फर्किएका छन् ।

तीन वर्ष पहिले आफ्नै कोठामा बस्ने खोटाङ ऐसेलुखर्कका लामाकाजी राईको हत्या आरोपमा सुवाषलाई कतार सरकारले मृत्युदण्डको सजाय सुनाएको थियो ।

राउतले बिदाका दिन अन्य कम्पनीका साथीहरु समेत आफ्नो कोठामा आएको र झगडा पर्दा राईको मृत्यु भएको बताएका थिए । राईको मृत्युका कारण राउतलाई लगाएर कतार प्रहरीले मृत्युदण्डको सजाय सुनाएको थियो । तर उक्त घटनामा आफू निर्दोष रहेको राउतले बताउँदै आएका थिए । राउतलाई विदेशमा मृत्युदण्डको सजाय सुनाएसँगै स्वदेशमा रहेका दुई छोराछोरी, श्रीमती कुमारी राउत, बुबा जितबहादुर र आमा दुर्गामायाको विजोग भएको थियो ।

उक्त खबर सुनेसँगै आमा दुर्गामायाको निधन भएको थियो । कतारमा मृत्युदण्डको सजाय सुनाएसँगै स्थानीयवासीको पहलमा ब्लडमनि तिर्नका लागि रकम सङ्कलन गरी पीडित परिवारलाई रकम बुझाएर तीन बर्षपछि राउतलाई स्वदेश फर्काइएको हो ।

राउतलाई स्वदेश फर्काउनका लागि तत्कालीन वडाध्यक्ष गोविन्द पौडेलको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले स्वदेश तथा विदेशमा रहेका नेपालीहरुबाट २० लाख २४ हजार रकम सङ्कलन गरेको थियो । राउतलाई स्वदेश फर्काएसँगै आइतबार गाउँमा उनलाई भव्य स्वागत गरिएको छ । झापा क्षेत्र नम्बर ४ का संघीय सांसद लालप्रसाद साँवा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, प्रदेश सरकारका पूर्व कृषिमन्त्री हिराकुमार थापा, कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोशन सुवेदीलगायतले स्वदेश फर्किएका राउतलाई स्वागत गरेका थिए ।
कार्यक्रममा आफू यसरी स्वदेश फर्किएर आउँछु भन्ने विश्वास नलागेको बताउँदै राउतले अब कहिल्यै पनि विदेश नजाने र स्वदेशमै केही गर्ने सोच बनाएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्