झापा, पुष ८ । भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आइतवार काठमाडौं जिल्ला अदालतमा धरौटी रकम बुझाएका छन्।

उच्च अदालत पाटनको आदेशानुसार काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाएपनि सम्पत्ति शुद्धिकरण विभागमा बयान दिन नपाउँदा रिजाल जेलमै पुगेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेठ ४ गते पक्राउ परेका रिजाललाई मंसिर १५ गते उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मंसिर १५ मा तोकेको धरौटी रिजालले जिल्ला अदालतमा आइतवार मात्रै बुझाएका हुन्।
रिजालका तर्फबाट कानुन व्यवसायी राजकुमार सुवालले कुमारी बैंकको बैंक ग्यारेन्टी बुझाएका हुन्। जिल्ला अदालतबाट विभागमा बयान दिन गएपनि आइतवार कार्यालय बन्द भएकाले रिजाल रिहा हुन सकेनन्।

रिजाललाई अब पुष ११ गते विभागमा बयानका लागि उपस्थित गराइने केन्द्रीय कारागार प्रशासन जगन्नाथदेवल सुन्धाराले जनाएको छ। रिजालको अब विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिनेछ। विभागले साढे ७ लाख रुपैयाँ धरौटी माग्ने भन्दै रिजालका कानुन व्यवसायी बैंक ग्यारेन्टी पत्र बनाइसकेका छन्।

शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्चको आदेशानुसार जिल्ला अदालतमा ३० लाख र विभागमा १५ लाख रुपैयाँ नबिल बैंकको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका थिए। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप पनि ३० लाख अदालतमा र १५ लाख विभागमा इन्भेष्टमेन्ट बैंकको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका थिए।
धरौटी बुझाउने रकम नहुँदा रिजाल आदेश जारी भएको २३ औं दिनसम्म पनि रिहा हुन सकेका थिएनन्। आदेश आएको २३ औं दिनमा मात्रै रिजालका तर्फबाट धरौटी रकम जम्मा भएको हो।

नेपालमा रहेका र अमेरिका, अष्ट्रेलिया, क्यानडा, नेदरल्याण्ड्सलगायतका देशमा पुनर्वास भएका पूर्व भुटानी शरणार्थीहरूले रिजालमाथि अन्याय भएको भन्दै रिहाइका लागि नेपाल सरकारसँग अनुरोध गरेका थिए। रिजालसहित धरौटीमा रिहा हुने आदेश पाएका शरणार्थी प्रकरणका आरोपीहरू अब २० पुषमा काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्