झापा, पुष ८ । सुदूरपश्चिमस्थित गौरीफन्टा नाकाबाट भित्रिएका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हिजो र आज भारतको बैङ्लोर र हैदरावादबाट फर्किएका ३ जनामा कोरोना देखिएको हो।
नाकास्थित स्रोतका अनुसार लम्की र बेलडाँडीका व्यक्तिमा कोरोना देखिएको हो। यसअघि गत हप्ता बुधवार र बिहीवार पनि ४ जनामा कोरोना संक्रमण देखिएको थियो।

यसैबीच कोभिड–१९ र यसको नयाँ भेरियन्ट ‘जेएन.१’ तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण पूर्वी एसियाली देशहरुमा यसको संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरु बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो संक्रमणबारे सजग रहन र सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको हो ।

‘कोभिड–१९ भाइरस विश्वव्यापी रुपमा फैलिइरहेको छ । अध्ययन अनुसार यसको नयाँ भेरियन्टको ‘जेएन.१’बाट जोखिम कम हुने आँकलन छ । तर संक्रमणबाट बच्नका लागि नियमित निगरानी र सतर्कता अपनाउन आवश्यक छ,’ डब्लूएचओका दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक डा.पुनम क्षेत्रपाल सिंहले भनेका छन् ।

उनका अनुसार डब्लूएचओले प्राप्त गरेको तथ्यांकमा ‘जेएन.१’ फैलिने दर उच्च छ र, विश्वव्यापी बढ्दो दरमा छ । विशेषगरी यतिबेला जाडो मौसम हुने देशहरुमा अन्य भाइरल र ब्याक्टेरियाको संकमण हुने र त्यही बीचमा कोभिड–१९ ले पनि संक्रमण गर्न सक्ने डब्लूएचओको अनुमान छ । ‘चिसोका कारण विभिन्न समस्याहरु देखिन सक्छन् । त्यसकारण सामान्य अस्वस्थता हुनेबित्तिकै चिकित्सकको सल्लाह लिइहाल्नु उपयुक्त हुन्छ,’ डा.क्षेत्रपाल सिंहले भने ।

कोभिडको नयाँ भेरियन्ट ‘जेएन.१’ भारतमा पुष्टि भइसकेको छ । तर नेपालमा भने अहिलेसम्म यसको संक्रमण पुष्टि भइसकेको छैन । यद्यपि कोभिड–१९ को संक्रमणका केसहरु भने छिटपुट देखिरहेका छन् । डब्लूएचओले जोखिममा रहेका व्यक्तिहरुले कोभिड–१९ र इन्फ्लुएन्जा विरुद्धको खोप लगाउनु उपयुक्त हुने जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्