झापा,पुष ८ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आइतवार हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा दिनभरि व्यस्त रहे । उनी मेचीनगर—४ बाहुनडाँगीमा आयोजित विभिन्न ६ वटा कार्यक्रममा सहभागी भए ।

मेचीनगरमा निर्माण हुन लागेको प्रकृति पार्क, सामुदायिक हलमा जारी चित्रकला प्रदर्शनी, वडा कार्यालयमा हात्ती विज्ञहरुसँगको अन्तरक्रिया, झापाको पहिलो शहीद विश्वनाथ घिमिरेको शालिकमा माल्यार्पण, शुभ चियाको स्थलगत अवलोकन तथा समुदाय स्तरमा हात्ती संरक्षण, मानव—हात्ती द्वन्द्व न्यूनीकरण र मानव हात्ती सहअस्तित्वका लागि भू—परिधि स्तरमा समन्वय र सहकार्य एवम् अनुभव साटासाटलगायतका कार्यक्रममा मुख्यमन्त्री कार्की सहभागी भएका थिए ।

उनले समस्याको रुपमा रहेको हात्तीलाई मनोरन्जनको रुपमा रुपान्तरण गरेर मनग्ये आम्दानी गर्न सकिने बताएका छन् । हात्ती प्रभावित बाहुनडाँगी क्षेत्रको स्थलगत भ्रमणपछि आइतबार मुख्यमन्त्री कार्कीले हात्तीलाई समस्याको रुपमा मात्रै नलिएर आर्थिक आम्दानीको दरिलो स्रोतको रुपमा पनि लिन सकिने बताए । ‘विगतमा हात्ती देखाएर जनतासँग भोट लिइयो होला’, मुख्यमन्त्री कार्कीले भने,‘अब हात्ती देखाएर पर्यटकसँग नोट लिनु पर्छ ।’मुख्यमन्त्रीले वर्षौंदेखि जारी मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सरकारी र गैरसरकारी रुपमा भएका प्रयत्नबारे पनि जानकारी लिएका थिए । उनले मेचीबगरमा लगाइएको विद्युतीय अफसेट फेन्सिङको पनि अवलोकन गरे ।

मानव बस्ती विकाससँगै हात्तीको कोरिडोर पनि मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले बाहुनडाँगीदेखि उदयपुरसम्म पुनः कोरिडोर निर्माण गर्न सकिने बताए । उनले बाहुनडाँगीदेखि जोगीदहसँग हात्तीको बाटो पहिल्याउँदै यात्रा गर्ने प्रदेश सरकारले योजना बनाइरहेको सुनाए ।

उनले हात्ती हिँड्ने बाटोमा बसेका बस्तीहरुलाई उचित मुआब्जासहित स्थानान्तरणका लागि सरकारले पहल गर्नु पर्ने बताउँदै भने,‘जंगलको मानव बस्ती अन्तै सारेर सरकारले घर बनाइदिने प्रस्ताव ल्याउन सक्दा मान्छे र हात्ती दुवैको सहअस्तित्व कायम हुन सक्ने छ ।’

हात्ती संरक्षणसँगै बालीनाली, घरसहित मान्छेको जीवन बीमाका लागि प्रदेश सरकारले काम अघि बढाइसकेको उनले जनाए । ‘ज्यान जोगाउनुस्, बालीनाली सरकारले जोगाइदिन्छ’, कार्कीले थपे ।

मानव हात्ती सहअस्तित्वको असल अभ्यास बुझ्न मुख्यमन्त्री कार्की बाहुनडाँगीको अवलोकन भ्रमणमा आइपुगेको मेचीनगर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए । पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति उपरथी आशबहादुर तामाङ (पिएच.डी.), सशस्त्र प्रहरी बल नेपाल नं. १ बराहवाहिनी पकली सुनसरीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजित, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक जयराज सापकोटा, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, अन्य सुरक्षाकर्मीसहित मुख्यमन्त्री कार्की बाहुनडाँगी पुगेका थिए ।

सवैभन्दा पहिला मुख्मन्त्री कार्की प्रकृति पार्क गएका थिए । त्यहाँ निर्माण गरिएको दुईवटा हात्तीको अवलोकनपश्चात् हात्ती समस्याका बारेमा जानकारी लिए । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगरमा हात्तीले पुर्याएको धनजनको क्षतिदेखि हात्ती समस्या तथा यस क्षेत्रका मानिसले हात्तीका कारण भोग्नु परेको पीडाका बारेमा मुख्यमन्त्री कार्कीलाई जानकारी दिएका थिए ।

मुख्यमन्त्री कार्कीलाई हात्तीका विषय विज्ञहरु नेपालको पहिलो हात्तीमा पीएचडी गर्ने डाक्टर नरेन्द्र प्रधान, राष्ट्रिय प्रकृति संरक्षण कोषका डाक्टर नरेश सुवेदी, डाक्टर कमल गैरे, डाक्टर अशोक रामले विविध विषयमा जानकारी गराए । सोही क्रममा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले हात्ती संरक्षण, मानव—हात्ती द्वन्द्व न्यूनीकरण एवम् मानव हात्ती सहअस्तित्व सम्बन्धमा तयार पारिएको प्रतिवेदन मुख्यमन्त्री कार्कीलाई हस्तान्तरण गरिन् । मुख्यमन्त्रीसहित कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले बाहुनडाँगीबासीसँग प्रत्यक्ष भलाकुसारी गरेका थिए ।

बाहुनडाँगी सामुदायिक भवनमा आयोजित तीन दिने चित्रकला प्रदर्शनी कार्यक्रमको समापनका अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले शिक्षालाई कक्षाकोठा र किताबको पानाभित्र मात्रै सीमित राख्न नहुने बताए । एटु आर्टको आयोजना तथा मेचीनगर नगरपालिका वडा नं ४ र आदर्श युवा परिवारको सहयोगमा सञ्चालन भएको चित्रकला प्रदर्शनीमा मेचीनगर क्षेत्रका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन मेचीनगर ४ का वडा सदस्य पवन बराइलीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्