बिर्तामोड , पुष ८ । बिर्तामोडमा २ सय ६२ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।

बिर्तामोड नगरपालिकाले बिहीबारदेखि आइतबारसम्म ४ दिन संचालन गरेको शिबिरमा नगरक्षेत्रभरिबाट संकलन गरेर ल्याएका कुकुरहरुको बन्ध्याकरण गरिएको हो ।

बिर्तामोड नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरण शिविर आयोजना गर्दै आएको छ । नगरपालिकाले यसअघि नै २ हजार १ सय भन्दा बढी सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिसकेको छ ।
सामुदायिक कुकुरको संख्या बढेसंगै कुकुरबाट सर्ने रेबिजलगायतका रोगहरुको जोखिम पनि बढ्दै गएपछि यसको प्रजनन दर रोक्नका लागि कुकुर बन्ध्याकरण शिविरको आयोजना गरिएको पशुपंछी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन् । कुकुरलाई बन्ध्याकरणसंगै रेबिजविरुद्वको भ्याक्सिन तथा आवश्यकता अनुसार अन्य औषधि उपचारसमेत गरिएको थियो ।

शिबिर समापन कार्यक्रममा प्राविधिक सहयोग उपलव्ध गराउने संस्था हाम्रो भेटेरिनरी सेवा सहकारी र डाक्टर सिजन शैंजुलाई प्रशंसापत्र प्रदान गरिएको छ । कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगिता सिवाले सहकारीका अध्यक्ष डाक्टर दिलिप सापकोटा र डाक्टर सैँजुलाई प्रशंसापत्र प्रदान गरिन् । शिविरमा खटिएको प्राविधिक टिमलाईसमेत खादा लगाइदिएर सम्मान गरिएको छ ।

नगरपालिकाले पशुपंछी तथा मत्स्य विकास शाखामार्फत हरेक वर्ष सामुदायिक कुकुर बन्ध्याकरणको लागि बजेट छुट्याउँदै आएको छ । शिविर समापन कार्यक्रममा कार्यपालिका सदस्य निर्मलादेवी सुनार, नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, अधिकृत मेघराज बाँस्तोलालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्