झापा,पुष ९ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को निर्वाचनको मिश्रित मतपरिणाम आएको छ ।

नेफ्स्कूनको ३२औं वार्षिक साधारणसभाअन्तर्गत भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष परितोष पौडेल र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्यानल बनाएर निर्वाचन लडेका थिए । निर्वाचनमा ढकाल अध्यक्षमा निर्वाचित भएका छन् । उनले ११९६ मत ल्याउँदा उनका प्रतिष्पर्धी पौडेलले १०१९ मत पाएका छन् । त्यस्तै महासचिवमा झापाका घनश्याम अधिकारी विजयी भएका छन् । पौडेल प्यानलका अधिकारी ८७६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सन्दीप सापकोटाले ८०१ र केशवप्रसाद पोखरेलले ५४४ मत ल्याएका छन् ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा पौडेल प्यानलका दामोदर अधिकारी विजयी भएका छन् । उनले १२३१ मत ल्याउँदा ढकाल प्यानलकी देवकी नेपालले ९८४ मत प्राप्त गरेकी छन् । त्यस्तै महिला उपाध्यक्षमा पौडेल प्यानलकी शान्ति अधिकारी ११४१ मतसहित निर्वाचित हुँदा ढकाल प्यानलकी गोमा नेपाल सापकोटाले १०८४ मत पाएकी छन् । त्यस्तै कोषाध्यक्षमा ढकाल प्यानलका दीपक थापा निर्वाचित भएका छन् । उनले १११३ मत ल्याउँदा पौडेल प्यानलका जिवसराज खड्काले १०९९ मत पाएका छन् ।

त्यस्तै प्रदेश संचालकमा पनि मिश्रित परिणाम आएको छ । प्रदेश संचालकमा लक्ष्मीप्रसाद सापकोटा कोशी , शोभाकुमारी राउत मधेश, खेमराज सुवेदी बागमती , गोपालप्रसाद गौतम गण्डकी , ज्ञानु पौड्याल लुम्बिनी , विरबहादुर रावत भोटे कर्णाली र दिप्ती शाही सुदूरपश्चिम प्रदेश संचालकमा निर्वाचित भएका छन् । संघको ४ वर्षे नेतृत्वका लागि १९ सदस्य सञ्चालक समिति र ३ जना लेखा समितिसहित कूल २२ सदस्यका लागि निर्वाचन भएको नेफ्स्कूनले जनाएको छ । खासगरी सहकारी क्षेत्रमा क्रियाशील नेकपा एमाले निकट अभियन्ताहरुको समर्थन पौडेल प्यानललाई रहेको थियो भने सत्तापक्ष गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतको समर्थन ढकाल प्यानललाई रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्