झापा,पुष ९ । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर–१० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज बिहान ६ः४५ बजे कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले उनलाई पुस ७ः ३० बजे अस्पतालमा भर्ना गराएको मोरङ कारागारका निमित्त जेलर कृष्णहरि न्यौपानेले जानकारी दिए । उपचारको क्रममा उनको मृत्यु भएको हस्पिटलले जनाएको छ । मृतकका आफन्तहरूले भने समयमै जानकारी नदिएको उपचारमा लापरबाही भएको भन्दै अस्पताल परिसरमा नाराबाजी सुरु गरेका छन् । सहनीको आज कैद भुक्तान सकिने दिन थियो । कैद भुक्तान सकिने दिन नै उनको मृत्यु भएको छ । सहनी २०७९ माघ १७ गतेदेखि कारागारमा कैद भुक्तान गर्दै आएका थिए । लेनदेन मुद्दामा उनलाई मोरङ अदालतले २०७८ मङ्सिर २० गते १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो । अदालतले फैसला गरेपछि उनी फरार थिए । २०७९ माघ १७ गते पक्राउ परेपछि उनलाई अदालतमा उपस्थिति गराएर कारागार चलान गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्