बिर्तामोड , पुष ९ । अंग्रेजी महिनाको डिसेम्बर २५ तारिखलाई महान उत्सवको रुपमा मनाईने प्रचलन अनुसार आज विश्वभरि रहेका ईसाइहरुले हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाएका छन् ।


यसक्रममा बिर्तामोडस्थित बिलिभर्स ईष्टर्न चर्चले विभिन्न कार्यक्रम गरी आज क्रिसमसलाई बडा दिनको रुपमा मनाएको छ । कार्यक्रममा नेपाली संस्कृति झल्किने नृत्य , भजन आदि प्रस्तुत गरिएको थियो ।

चर्चका बिर्तामोड डायोसिस प्रमुख रिभरेन फादर डाक्टर चित्रकुमार रुपाचाले आजको दिनको बाईबलीय महत्वबारे प्रवचन दिएका थिए । प्रभु यशु ख्रिष्टको जन्म कन्ये मरियमबाट भएको र उनको जन्म हुनुभन्दा ७ सय ३० वर्षअघि नै अगमवाणी भएको कुरा पवित्र धर्मशास्त्र बाईबलमा उल्लेख भएको उनले जानकारी दिए । चर्चका डिकन फादर समर वाग्लेले संचालन गरेको कार्यक्रममा केक काटेर र पानसमा बत्ती बालेर प्रार्थनासहित सुरुवात गरिएको थियो ।

गएको शनिवार मण्डलीका सबै सदस्यबीच प्रेमभोज गरिएको , पूर्व सन्ध्यामा राष्ट्रिय झण्डा अंकित चित्रमा मैनबत्ती बालेर क्रिसमसको स्वागत गरिएको मण्डलीका सदस्य वीरु दर्नालले जानकारी दिए ।

नौ कठ्ठाभन्दा बढी क्षेत्रफलमा फैलिएको उक्त चर्चको सेवा भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । आगामी फेब्रुअरी महिनाको २ तारिख एक कार्यक्रमका बीच भवन उद्घाटन गरिने भएको छ । उक्त सेवा भवन संभवतः नेपालमै ठूलो क्षमताको ब्यवस्थित हुने बताईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्