बिर्तामोड , पुष १० । अस्पतालको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै मृतक परिवार र आफन्तले होहल्ला गर्दै आन्दोलन गरेपछि हिजोदेखि बिर्तामोडको मनमोहन हस्पिटल तनावग्रस्त छ ।

मृतक नर्वदा र अस्पतालअगाडि आन्दोलनकारीहरु

मृतकका परिवार र आफन्तले क्षतिपूर्तिको माग गर्दै हिजो साँझदेखि आन्दोलन गरिरहेका छन् । घुँडामुनि सुन्निएर बिर्तामोड ९ की ३५ वर्षीया नर्वदा बाँसकोटालाई हिजो बिहान ७ बजे मनमोहन अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । उपचारका क्रममा बेलुका ५.३० बजे उनको मृत्यु भएको हो । मृतकका श्रीमान, ११ वर्षका छोरा र अढाई वर्षकी छोरी रहेका छन् । मृतकका छोराछोरीको पालनपोषण , शिक्षादिक्षाको लागि क्षतिपूर्ति र लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कार्वाही गर्नुपर्ने आफूहरुको माग रहेको मृतकका भाइ दिनेश बाँस्कोटाले बताए । उनले मनमोहनले उपचार पनि नगरेको र ८ घण्टासम्म रिपोर्ट नदिँदा अन्यत्र लैजान नसकेको बताए ।

हिजो साँझ आन्दोलन गरेका मृतकका आफन्तहरुले आज विहानदेखि फेरि अस्पतालअगाडि होहल्ला गरिरहेका छन् । बाक्लो उपस्थिति रहेको प्रहरीले अस्पतालभित्र कसैलाई प्रवेश गर्न दिएको छैन । मृतकको शव अस्पतालको आइसियुमा रहेको जनाइएको छ । यसअघि गत साउन २९ गते चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तहरुले मनमोहन हस्पिटलमा आन्दोलन गरेका थिए । प्रसूति गराउन मनमोहन ल्याइएकी बिर्तामोड १ की २७ वर्षिया सिर्जना संग्रौलाको मृत्यु भएपछि आफन्तहरुले आन्दोलन गरेका थिए । अस्पताल प्रशासनले क्षतिपूर्तिवापत मृतक परिवारलाई ३५ लाख रुपैयाँ दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्