बिर्तामोड, पुष ११ ।झापाको बिर्तामोडमा नेपाली भाषाका शिक्षकले नेपाली भाषा शिक्षण, पाठ्यक्रम विमर्श तथा सृजनात्मक लेखनसम्बन्धी एकदिने तालिम पाएका छन् । उनीहरुलाई यो तालिम निःशुल्क दिइएको हो ।


संस्थागत विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याव्सन) बिर्तामोड नगर कार्यसमितिको आयोजनामा शिक्षण सिकाइका क्रियाकलाप र त्यससंग सम्बन्धित विषयमा शिक्षक शिक्षिकालाई तालिम प्रदान गरिएको हो ।

जिल्लाको बिर्तामोड, मेचीनगर, अर्जुनधारा, शिवसताक्षी, कनकाई, हल्दिबारी, बुद्धशान्तिलगायतका पालिकाका सामु्दायिक तथा संस्थागत विद्यालयका ११६ जना नेपाली भाषाका शिक्षक शिक्षिका तालिममा सहभागी थिए ।
नेपाली भाषा र त्यसको प्रयोगमा देखिएको जटिलतालाई सहज तुल्याउने उद्देश्यले स्थानीय आदर्श व्यांक्वेटको सभाहलमा तालिमको आयोजना गरिएको थियो । कार्यक्रमको संयोजन ऐरावती प्रकाशन प्रालिले गरेको आयोजक बिर्तामोड नगर प्याव्सनले जनाएको छ ।

तालिमको उद्घाटन निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याव्सन) झापाका अध्यक्ष गौरीमान फागोले गरेका थिए । उनले अन्तर्राष्ट्रिय भाषालाई भन्दा पनि नेपाली राष्ट्रिय भाषालाई बढी प्राथमिकता दिनुपर्ने बताए । नेपाली भाषा सबै नागरिकले जाने बुझेको भाषा भएकोले अन्य मुलुकको भाषाभन्दा आफ्नै राष्ट्रिय भाषालाई कक्षा कोठामा बढी प्राथमिकता दिनुपर्ने उनले बताए । ‘विद्यालय उमेरदेखि नेपाली भाषाले सिकाउने संस्कार विद्यार्थीलाई सिकाउन सकिएन भने भविष्यमा उनीहरुले शिक्षकलाई धिक्कार्छन् । त्यसबाट बच्नका लागि पनि उनीहरुलाई चलनचल्तीका नेपाली भाषाको प्रयोग गर्न सिकाउनु पर्छ,’ उनले भने ।


नेपाली भाषालाई हरेक क्षेत्रमा प्रयोगमा ल्याउन सबै जिम्मेवार बन्नुपर्ने उनले बताए । ‘अन्य मुलुकको भाषा जान्दिनँ, बुझेको छैन भन्दा पाइन्छ । जान्नै पर्छ भन्ने छैन । तर, नेपालीले भाषा जानेको छैन भन्न पाइन्न । जाने बुझेकै हुनुपर्छ,’ उनले भने । कक्षा कोठाबाट नेपाली भाषा र संस्कार सिकाउनका लागि शिक्षकले अहम् भुमिका खेल्नुपर्ने प्याव्सन झापाका अध्यक्ष फागोले बताए ।

प्याब्सन बिर्तामोड नगरका अध्यक्ष उत्तम खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रा.डा. देवी नेपाल, ऐरावती प्रकाशन प्रालिका निर्देशक आनन्द तिवारी, अधिवक्ता फडिन्द्रराज न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्याव्सन बिर्तामोड नगरका अध्यक्ष खनालले संस्थागत विद्यालयका शिक्षकलाई सहज शिक्षण सिकाईमा सहजता तुल्याउने उद्धेश्यले आयोजना भएको यो तालिमबाट सहभागीले अधिकतम् उपलब्धी हासिल गर्नुपर्ने बताए ।
कार्यशालामा नेपाली पाठ्यपुस्तकका लेखक तथा नेपाली भाषाका विज्ञहरु प्रा.डा. रामप्रसाद ज्ञवाली र पाठ्यपुस्तक लेखक तथा नेपाली भाषाविद् प्रा.डा. देवीप्रसाद नेपालले नेपाली भाषाका विविध विषयमा र पाठ्यक्रमका विषयमा प्रशिक्षण दिएका थिए ।

सहभागीले यो कार्यक्रम शिक्षण सिकाइका लागि अति नै उपयोगी भएको बताए । उनीहरुले पहिलो पटक नेपाली भाषा शिक्षण, पाठ्यक्रम विमर्श तथा सृजनात्मक लेखनसम्बन्धी तालिम पाएको बताए । विद्यार्थीलाई कक्षा कोठामा सिकाउँदा विषयगत शिक्षकले अध्ययन गरेर मात्र पाठ्यपुस्तक छनौट गरे विद्यार्थीले उचित शिक्षा र संस्कार पाउन सक्ने सहभागी शिक्षक शिक्षिकाले बताए ।

आगामी शैक्षिक सत्रदेखि नेपाली भाषाका विज्ञ, वरिष्ठ साहित्यकार तथा लेखक प्राध्यापक डाक्टरद्वय रामप्रसाद ज्ञवाली र देवी नेपाल, डाक्टर गणेशप्रसाद भट्टराई, धीरकुमार श्रेष्ठको नेपाली व्याकरण बजारमा आएको प्रकाशनका प्रवन्धक निर्देशक आनन्द तिवारीले बताए । उनका अनुसार विद्यालय तहको पाठ्यपुस्तक बजारमा पुगिसकेको छ । यस्तै साहित्य विधाका पुस्तक पनि ऐरावती प्रकाशनले प्रकाशन गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्