झापा,पुष १३ । झापाको बाह्रदशी गाउँपालिकामा सामुदायिक खाद्य बैंक हस्तान्तरण गरिएको छ। विश्व खाद्य कार्यक्रमको आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रमअन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा बाह्रदशीमा निर्माण गरिएको सामुदायिक खाद्य बैंकको उद्घाटन गरेसँगै हस्तान्तरण गरिएको हो। स्थानीय स्तरमा खाद्य सञ्चितको अवस्थालाई सुनिश्चित गरी प्राकृतिक विपदमा परेका समुदायलाई खाद्य उपलब्धतामार्फत खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति गराउने उद्देश्यले स्थानीय तहसँगको साझेदारीमा सामुदायिक खाद्य बैंकको स्थापना गरिएको हो। विगतका वर्षको तुलनामा नेपालमा कुपोषणको दर क्रमशः घट्दै गएको छ। तर अझै पनि पोषणका कतिपय सूचकमा कोशी प्रदेशको अवस्था सुधार हुन बाँकी छ। बाढी, खडेरी जस्ता प्राकृतिक प्रकोपको बढी जोखिममा रहेकाले यस क्षेत्रमा बहुआयामिक गरिबी कमजोर पूर्वाधारको अवस्थाले खाद्य तथा पोषण सुरक्षाको स्थितिमा प्रतिकुल असर पारेको देखिएको छ। खाद्य भण्डारण सुविधासहित सञ्चालन हुने सामुदायिक खाद्य बैंकले कुपोषित र यसको जोखिममा रहेका गर्भवती, सुत्केरी ,बालबालिका र विपद्को समयमा लक्षित वा आवश्यक परेका परिवारहरूलाई स्थानीय किसानहरूबाट खाद्यान्न खरिद गरी निःशुल्क वा सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराइने गाउँपालिका अध्यक्ष देविन्द्र चम्लागाईले बताए। यस बैंकले सामुदायिक विद्यालयहरूमा सञ्चालन भइरहेको विद्यालय दिवा खाजा कार्यक्रमको लागि आवश्यक खाद्य वस्तुहरू आपूर्ति र बिक्री गर्न समेत महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष चम्लागाईंले बताए। यस कार्यक्रमलाई स्थानीय तहमा कार्यान्वयन गर्न कोशी प्रदेशमा नेपाल जनस्वास्थ्य तथा शिक्षा समूह (नेफेग)ले प्राविधिक सहयोग प्रदान गरिरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्