झापा,पुष १३ । दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटना र त्यहाँ भएको प्रदर्शन लगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीका अनुसार डीआइजी लाममणि आचार्यको संयोजकत्वमा गठित समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य छन् । उनीहरुलाई सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ ।
कोरिया भाषा परीक्षाको आवदेन दिन नपाएको भन्दै आक्रोशित समूहले शुक्रबार बिहान सातदोबाटो क्षेत्रमा प्रदर्शन गर्दै भौतिक योजना तथा यातायातमन्त्रीको गाडी जलाएको थियो । त्यसपछि आक्रोशित युवाहरुले ललितपुरको चक्रपथ क्षेत्रमा प्रदर्शन गरेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनले उग्र रुप लिएको थियो । त्यस क्रममा घाइते भएका दुई जना युवाको उपचारका क्रममा मृत्यु भइसकेको छ । अन्य केही घाइते छन् भने । चार दर्जनभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा घाइते भएका अर्का एक युवकको पनि मृत्यु भएको हो । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले घटनापछि गम्भीर घाइते भएर उपचारका लागि अस्पताल पुर्याइएका वीरेन्द्र शाहको पनि मृत्यु भएको जानकारी दिए । यसअघि प्रदर्शनको क्रममा २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्