झापा, पुष १३ । झापाको कनकाई– बिर्ता–अर्जुन नविकरणीय ऊर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनीले फोहोर सेग्रीगेसन कार्य सुरु गरेको छ ।


बायोग्यास उत्पादनका लागि सुरु गरिएको यस कम्पनीले कुहिने र नकुहिने फोहोर सेग्रीगेसन कार्य आजदेखि सुरु गरेको हो । सेग्रीगेसन परिक्षणका रुपमा सुरु गरिएको कम्पनीले जनाएको छ ।

कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली र कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्माले संयुक्तरुपमा सेग्रीगेसन मेसिनको बटम थिचेर परीक्षण कार्यको उद्घाटन गरेका थिए ।

यस मेसिनमा सेग्रीगेसन गरिसकेपछि कुहिने फोहोर ग्यास उत्पादन गर्ने डाइजेस्टरमा लगाइन्छ । नकुहिने प्लाष्टिकजन्य फोहोरको लागि भने पेवर्स,ब्लग बनाउने मेसिन खरिद प्रक्रियामा रहेको छ। अबको एक महिनादेखि डेढ महिनाभित्रमा त्यो मेशिन पनि जडान हुने भएकाले तीनैवटा पालिकाको फोहोर व्यवस्थापन हुने कम्पनीका मेकानिकल कन्सल्टेन्ट इन्जिनियर मोहम्मद नसिम अलीले जानकारी दिए । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले यो प्लान्ट पूर्णरुपमा सञ्चालनमा आएपछि फोहोर व्यवस्थापनमा सहज हुने बताइन् । फोहोर स्रोतमै वर्गीकरण गर्नु पर्ने भएकोले घर,पसल, होटलमै कुहिने र नकुहिने फोहोर छुट्याउन नगरबासीलाई उनले आग्रह गरिन् । हाल बिर्तामोडको कृषिथोक बजारबाट निस्किएको फाहोरमात्रै प्लान्टमा गईरहेको र अब बाँकी फोहोर पनि चाँडै पठाइने नगर प्रमुख प्रसाईले जानकारी दिइन् ।

यस्तै कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोख्रेलले क्रमागतरुपमा ढिलै भएपनि लक्ष्य प्राप्तिको दिशामा पुगको बताए । उनले पनि तीनवटै पालिकाबाट सेग्रीगेसन गरिएको फोहोर ल्याउनु पर्नेमा जोड दिँदै स्रोतमै वर्गीकरण गर्न सबैलाई आग्रह गरे ।

सेग्रीगेसन मेशिनको औपचारिक उद्घाटन आगामी सोमबार गरिने कम्पनीका अध्यक्ष मदनगोपाल सुव्वाले जानकारी दिए । सेग्रीगेसन परीक्षण कार्य उद्घाटनमा कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, कम्पनीका बोर्ड सदस्य मिनाल तिम्सिनाको पनि उपस्थिति रहेको थियो ।

कनकाई, बिर्तामोड, अर्जुनधारा नगरपालिका, दातृ निकाय र स्थानीय नागरिक समेतको परियोजनामा २२ करोड रुपैयाँ लगानीमा फोहोर मैलाको दीगो व्यवस्थापनका लागि ग्यास प्लान्ट निर्माण गरिएको हो । प्लान्ट कनकाई नगरपालिका २ मा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्