झापा,पुष १४ । इलामको सूर्याेदय नगरपालिकाले साँझको पाँच बजेदेखि नौ बजेसम्म मात्रै मदिरा पिउन पाइने व्यवस्था गरेको छ। पालिकाको शुक्रबार बसेको कार्यपालिका बैठकले मदिरा नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका पारित गर्दै त्यस्तो व्यवस्था गरेको हो। दिनको समयमै मदिराले लठ्ठिएर होहल्ला गर्ने प्रवृत्ति बढेको, सार्वजनिक निकाय वरिपरि मदिराको बेचबिखन गर्ने गरेको, विद्यार्थीलाई मदिरा बेचबिखन गर्ने गरेको र बालबालिकामा मदिराको लत बढ्न थालेको पाइएपछि नगरपालिकाले मदिरा नियन्त्रणका लागि कानुनी प्रावधानको व्यवस्था गरेको नगर प्रमुख रणबहादुर राईले जानकारी दिए । कार्यविधिले १८ वर्ष मुनिका बालबालिकालाई मदिरा बेचबिखन गर्न निषेध गरेको छ। इजाजत पत्र बिना मदिरा बेच्न नपाइने र मदिरा खरिदबिक्रीको विजक अनिवार्य गरेको छ। मदिरा तथा सूर्तीजन्य वस्तुलाई नियमन गर्न आउदो नगरसभाबाट ऐन बनाउन वडा नम्बर ५ का वडाध्यक्ष उर्गेन बम्जनको संयोजकत्वमा ऐन मस्यौदा समिति गठन भएको छ। नगरपालिकाको १४ औं नगरसभा माघ १० गतेदेखि बस्दै छ। नगरसभाबाट ऐन पारित भएपछि मदिरा जन्य वस्तुको नियन्त्रणका लागि सघन रूपमा अभियान सञ्चालन गर्ने तयारी छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्