बिर्तामोड, पुष १७ । एभरेष्ट स्मार्ट बाल क्लबले अर्जुनधाराका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

बिर्तामोडस्थित एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीमा रहेको बाल क्लबले अर्जुनधारा नगरपालिका ८ मा रहेको चन्द्रोदय प्राथमिक विद्यालयका ७५ जना बालबालिकालाई स्विटर , कपि ,पेन्सिललगायतका सामग्री वितरण गरेको प्रधानाध्यापक अनुप शर्माले जानकारी दिए ।
एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीको सहयोगमा बाल क्लबले ४५ हजार मूल्य बराबरको सामग्री वितरण गरेको क्लबकी अध्यक्ष कृषा दुलालले बताइन् । उनका अनुसार विद्यालयका शिक्षक,विद्यार्थी र बाल क्लबको सहयोग रहेको थियो ।
अर्जुनधारा ८ का वडाध्यक्ष कुमार उप्रेतीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड लेडीको अभिभावकीय साथ रहेको थियो। कार्यक्रममा बोल्दै वडाध्यक्ष उप्रेतीले एक विद्यालयले अर्को विद्यालयका विद्यार्थीलाई सहयोग गर्दै रचनात्मक कार्य गरेकोमा प्रशंसा गरेका थिए । एभरेष्ट स्कुलका प्रधानाध्यापक शर्माले बालबालिकाको क्षमता सामाजिक अभियानमा विकास गर्न कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा चन्द्रोदयका प्रधानाध्यापक टंकप्रसाद आचार्य ,लायन्स अध्यक्ष निरु ओलीले शुभकामना मन्तव्य राखेका थिए । बाल क्लब अध्यक्ष कृषा दुलालको अध्यक्षता रहेको कार्यक्रमको संचालन फोकल पर्सन तृष्णा अधिकारीले गरेकी थिइन् । बिपन्न्न वर्गका बालबालिका पढ्ने सो विद्यालयमा हाल ७५ जना बालबालिका अध्ययनरत रहेको विद्यालय ब्यबस्थापन समिति अध्यक्ष कुमार कार्कीले जानकारी दिए ।