झापा,पुष १८ । कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया पुष २४ गतेबाट सुरु हुने भएको छ । प्रदेशसभाको अर्को बैठक २४ गते राखिएको र सोहि दिनदेखि सभामुख चयनको प्रक्रिया सुरु हुने नेताहरुले बताएका छन् ।

सत्तारुढ गठबन्धनबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सभामुख दिने सहमति छ । सहमति अनुसार राप्रपाले सभामुख लिने निर्णय गरिसकेको भएपनि औपचारिक रुपमा त्यसलाई सार्वजनिक गरेको छैन ।

‘२-३ दिनपछि सबै कुरा आइहाल्छ किन हतारिनु,’ राप्रपाबाट सभामुखको उम्मेदवार मानिएका अम्बरबहादुर विष्ट बताउँछन्, ‘निर्णय भएको भन्ने विषयमा मलाई औपचारिक थाहा छैन ।’ दलहरुबीच पुषको दोस्रो हप्ताभित्रमा सभामुख चयन प्रक्रिया सुरु गर्ने मौखिक सहमति भएपनि मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा २४ गतेबाट सभामुखको चयन प्रक्रिया सुरु गर्ने सहमति भएको हो ।

मंगलबारको बैठकमा सभामुख चयन प्रक्रिया एक हप्तापछि सुरु गर्न एमालेले प्रस्ताव गरेको थियो । एमालेले सभामुख चयनको प्रक्रियालाई लम्ब्याउन चाहिरहेको छ । यसअघि पुष ६ गतेबाट सभामुख चयन प्रक्रिया सुरु हुने बताइएको थियो । सत्ता पक्ष र राप्रपाले सभामुख चयनको प्रक्रिया सुरु गर्नेगरी छलफल अगाडि बढाउन जोड गरेको भएपनि एमालेकै कारण ढिलाई हुँदै आएको छ ।

राप्रपाले सभामुखमा सांसद विष्टलाई पठाउने निर्णय यसअघि नै गरिसकेको छ । यस्तै सरकारमा जाने अवस्थामा दलका नेता भक्तिप्रसाद सिटौलालाई नै पुनः दोहोर्याउने गरि छलफल पनि भएको स्रोतको दाबी छ । ‘सभामुखमा जाने निर्णय धेरै पहिले भएको हो,’ राप्रपा स्रोतले भन्यो, ‘अहिले सार्वजनिक नगरिएको मात्रै हो ।’
राप्रपामा सभामुख लिने कि नलिने भन्ने विषयमा सामान्य विवाद छ । तर, सरकारमा जाने कुरामा भने तीब्र विवाद हुने राप्रपाकै एक सांसद बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्