झापा,पुष १९ । कोशी नामकरणविरुद्ध आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको यातायात बन्द फिर्ता लिएको छ। पक्राउ परेका कार्यकर्ता रिहाइ हुने निश्चित भएसँगै सङ्घर्ष समितिले बिहीबार अपराह्नदेखि मेची राजमार्गमा गरेको यातायात बन्द फिर्ता लिएको हो।

प्रहरीद्वारा पक्राउ गरिएका कार्यकर्ता बुलेट किराँती (आन्जेस राई) को बिनासर्त रिहाइ गर्नुपर्ने माग राखेर सङ्घर्ष समितिले बुधबार र बिहीबार दुई दिन मेची राजमार्ग बन्दको आह्वान गरेको थियो। इलाममा पक्राउ परेका राईको रिहाइ हुने भएपछि समितिले विज्ञप्ति जारी गर्दै यातायात बन्द फिर्ता लिएको जनाएको छ। विज्ञप्तिअनुसार बिहीबार दिउँसो २ बजेदेखि यातायात बन्द फिर्ता लिएको उल्लेख गरिएको छ।

यता समितिले आह्वान गरेको बन्दका कारण ताप्लेजुङसहित पाँचथर, इलाम र झापा जिल्लाअन्तर्गत मेची राजमार्गमा बुधबारदेखि यातायात ठप्प भएको थियो। यातायात ठप्प हुँदा यात्रुले यात्रा गर्न पाएका थिएनन्। बिहीबार आज अपराह्नपछि बन्द फिर्ता भएसँगै मेची राजमार्गमा छोटो दूरीका सवारी साधन सञ्चालन हुने यातायात व्यवसायीले बताएका छन्।

बन्द खुले पनि ताप्लेजुङदेखि भने मेची राजमार्गमा शुक्रबार बिहानदेखि मात्र सवारी साधन चल्ने फुङ्लिङस्थित पाथीभरा यातायात प्रालिका काउन्टर इन्चार्ज शरण लिम्बूले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्