झापा,पुष १९। उत्तरी मोरङको जङ्गल क्षेत्रका गाउँमा हात्ती आतङ्क भइरहेको बेला मोरङको दक्षिणपूर्वी रतुवामाई नगरक्षेत्रमा पनि हात्ती देखिएका छन् । उर्लाबारी नगरपालिकाको जङ्गल क्षेत्रबाट जङ्गली हात्ती बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

रतुवामाई नगरपालिकाको वडा नम्बर ९ स्थित झर्नाटोल हुँदै वडा नम्बर १० को गोप्पेश्वर मन्दिरको रिङरोडबाट राष्ट्रनिर्माण बोर्डिङ स्कुल हुँदै हात्ती उर्लाबारीतिर लागेका छन् । नौ वटा जङ्गली हात्ती बस्तीमा प्रवेश गरेपछि अहिले त्यस क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्थानीयका अनुसार बिहीबार बिहान हात्ती रतुवामाईको ९ र १० हुँदै उर्लाबारीतर्फ गएको हो । प्रहरीका अनुसार उर्लाबारी ९ बाट बक्राहा खोलातिर गएका हात्ती फेरि उर्लाबारी ८ को कदमटोली प्रवेश गरेका छन् । उर्लाबारी ९ का वडाध्यक्ष नरबहादुर मोक्तानका अनुसार हात्ती अहिले बक्राहा खोलातिर जाँदैछन् ।

हात्तीले कुनै धनजनको क्षति भने गरेका छैनन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका वरिष्ठ सइ मनोज यादवका अनुसार अहिले नौ वटा हात्ती उर्लाबारी ९ को शान्तिक्षेत्र आविको जङ्गल क्षेत्रमा बसिरहेका छन् । बिहान ७ः३० बजेतिर दुर्गापुरी क्षेत्रमा देखिएका हात्ती कताबाट आएको एकिन भएको छैन । उत्तरी मोरङबाट आएका हुन वा अलग्गै बथान हो, छुट्याउन सकेका छैनौं । यादवले भने, ‘‘प्रहरी, स्थानीय र वनका प्रतिनिधि भएर अहिले हात्तीबाट हुने क्षति रोक्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्