झापा,पुष १९ । भद्रपुर नगरपालिकाले यो वर्ष सन्थाल समुदायका परिवारलाई २६ वटा घर निर्माण गरिदिने भएको छ । नगर प्रमुख सन्थाल आवास निर्माण अन्तर्गत नगरका १० वटा वडामध्ये ५ वडाका २६ परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिन लागेको हो । नगर प्रमुख गणेश पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतले सन्थाल आवासको एक कार्यक्रमका बीच शिलान्यास गरेसँगै निर्माण कार्य सुरु भएको छ । नगरपालिकाले वडा नम्बर ३ निवासी लाल हस्दा र वडा नम्बर ९ निवासी चुड्कु किस्कुको आवास शिलान्यास गरेका थिए । आफ्नै जमिन हुनुपर्ने, आर्थिक अवस्था कमजोर, छोराछोरी सामुदायिक विद्यालय पढाउनु पर्ने लगायतको नीति बनाएर नगरपालिकाले वडा नम्बर ३, ५, ९ र १० मा ५ वटाको दरले २० वटा घर र वडा नम्बर ७ मा ६ वटा गरी जम्मा २६ वटा घर निर्माण गरिने नगरका इन्जिनियर योगेन्द्र रञ्जितकारले जानकारी दिए । भ्याटसहित एक करोड २७ लाख २२ हजार ९१३ रुपैयाँमा लागतमा निर्माण हुने घरको ठेक्का स्नेहा निर्माण सेवा भद्रपुरले लिएको छ । ३८४ दशमलव १३ वर्ग फिटमा टिनको छाना भएको घरमा भान्सा, बरन्डासहित ३ वटा कोठा निर्माण गरिने छ । एउटा घर निर्माण गर्न ४ लाख ८९ हजार ३४२ रुपैयाँ खर्च हुने इन्जिनियर रञ्जितकारले बताए । २०८१ वैशाख मसान्तसम्म सम्पन्न गर्ने गरी चालु वर्षको मङ्सिर २७ गते निर्माण कम्पनीसँग सम्झौता भएको उनको भनाई छ । लोप हुँदै गएको सन्थाल जातिलाई विस्थापित हुन नदिन यो योजना सुरु गरिएको नगर प्रमुख गणेश पोख्रेलले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्