झापा, पुष १९ । झापा जिल्लामा ४.४२ प्रतिशत मानिसले मात्र ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

११ औं राष्ट्रिय जनगणना २०७८ को पुरक प्रतिवेदनका रुपमा राष्ट्रिय तथ्यांक कार्यालयले शहरी र ग्रामीण क्षेत्र र त्यहाँको जनसंख्यासहित सार्वजनिक गरेको प्रतिवेदनले त्यस्तो देखाएको छ । प्रतिवेदन अनुसार झापा जिल्लामा ४.४२ प्रतिशत मानिस ग्रामीण क्षेत्रमा, ७६.६ प्रतिशत शहरोन्मुख क्षेत्रमा र १८.९५ प्रतिशत मानिसहरु शहरी क्षेत्रमा बसोबास गर्दछन् । कोशी प्रदेशमा ग्रामीण जनसंख्या कम भएको दोस्रो जिल्लामा झापा परेको छ । थोरै ग्रामीण जनसंख्या भएको जिल्लाहरुमध्ये कोशी प्रदेशमा झापा दोस्रो जिल्ला हो भने कोशी प्रदेशमा सबैभन्दा कम ग्रामीण जनसंख्या भएको जिल्लामा सुनसरी परेको छ ।

झापा जिल्लाका १३१ वटा वडाहरुमध्ये १५ वटा वडा शहरी, १०८ वटा वडा शहरोन्मुख र ८ वटा वडा ग्रामीण क्षेत्रमा परेका छन् । प्रतिवेदनमा नेपाललाई शहरी, शहरोन्मुख र ग्रामीण क्षेत्र गरेर वडागत वर्गीकरण गरिएको छ । भू–उपग्रहबाट प्राप्त चित्र र पछिल्लो जनगणनाबाट प्राप्त तथ्यांकलाई समायोजन गरी बैज्ञानिक बिधिबाट नेपालका ७५३ स्थानीय तहका ६७४३ वडाहरुमध्ये ९६२ वटा वडाहरु शहरी प्रकृतिका, २०९६ वटा वडाहरु शहरोन्मुख प्रकृतिका र ३६८५ वटा वडाहरु ग्रामीण प्रकृतिका भएको पाइएको छ ।

यसैगरी कोशी प्रदेशका १३२, २९८, ७३७ वडाहरु क्रमशः शहरी, शहरोन्मुख र ग्रामीण वर्गमा परेका छन् । हाल नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कुल संख्या २९३ छ । नेपालमा नगरपालिकाहरुमा बसोबास गर्नेको कुल जनसंख्या ६६.०२ प्रतिशत रहेको छ तर हालसालैको वर्गीकरणले शहरी वडाहरुमा बसोबास गर्ने जनसंख्या २७.०७ प्रतिशत रहेको देखाएको छ । त्यसैगरी शहरोन्मुख क्षेत्रमा बसोबास गर्नेको ३९.७५ प्रतिशत र शहरी क्षेत्रमा बसोबास गर्नेको संख्या ३३.१९ प्रतिशत रहेको छ ।

झापा जिल्लाको पालिकागत शहरी ग्रामीण वर्गीकृत जनसंख्याको विवरण

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्