बिर्तामोड, पुष १९ । झापाको बिर्तामोडमा आगामी माघ ९ देखि ३० गतेसम्म बिर्तामोड नगर पर्यटकीय दोस्रो महोत्सवको आयोजना हुने भएको छ ।


नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदको आयोजनामा महोत्सव गर्न लागिएको बिहीवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

आदिवासी जनजातिको मौलिक कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महासंघ बिर्तामोडका अध्यक्ष राजकुमार राजवंशीले जानकारी दिए ।उनले महोत्सवले आदिवासी समुदायको कला संस्कृतिको जगेर्नाका साथै मौलिक खानपान र पहिरनको प्रवर्धनमा सहयोग पुग्ने बताए ।

अध्यक्ष राजवंशीले लोप हुँदै गएको कला, संस्कृति र पहिचानको संरक्षण नै महोत्सवको मुख्य उद्देश्य भएको बताए । धर्मकाँटा रोडको उत्तर भागमा महोत्सव आयोजना हुने भएको छ । १५० वटा स्टल रहने महोत्सवमा जातीय कला, संस्कृतिको प्रदर्शनीसँगै मनोरञ्जनका लागि हरेक दिन राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । २२ दिनसम्म चल्ने महोत्सवभित्र हरेक समुदायको लाथि एक–एक वटा स्टल रहनेछन् ।

महासंघका उपाध्यक्ष दिपेन्द्र चौधरीले हरेक दिन आदिवासी, जनजाति समुदायको कला, संस्कृतिसँगै खानपान र पहिरनको प्रदर्शनी रहने जानकारी दिए ।

नयाँ पिँढीलाई आफ्नो समुदायको कला, संस्कृति, भेषभुषाबारे जानकारी दिन पनि महोत्सव प्रभावकारी हुने विश्वास गरिएको छ । महोत्सवमा सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्