झापा, पुष १९ । कोशी प्रदेशमा आगलागीका घटना अत्यधिक बढेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार विगत डेढ महिनायता कोशीका १४ जिल्लामै आगलागीका घटना भएका छन् । यो अवधिमा जम्मा २ सय १७ आगलागी घटना भए । जसमा मंसिरमा १ सय ४५ र पुस १५ सम्म ७२ आगलागी घटना भएका छन् ।

आगलागीबाट ३ जनाको ज्यान गयो भने १५ घाइते भए । मंसिरमा करिब ९ करोड ४० लाख र पुषमा ३ करोड ४३ लाख गरी कुल करिब १२ करोड ४७ लाख रुपैयाँ बढीको भौतिक सम्पत्ति क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापामा ५७, इलाममा ९, पाँचथरमा २, ताप्लेजुङ २, मोरङमा ५८, सुनसरीमा ३७, धनकुटा, तेह्रथुम र भोजपुरमा ४–४ घटना भएको छ । त्यस्तै उदयपुरमा १६, खोटाङ ७, ओखलढुंगा ३ र सोलुखुम्बुमा ८ आगलागीका घटना भएको प्रहरीले जनाएको छ ।

धेरैजसो घटना विद्युत् सर्टका कारण भएको पाइएको छ । बालबालिकाले हेल्चेक्र्याई गर्दा पनि कतिपय आगलागीका घटना भएको प्रहरीले जनाएको छ । परालको भुस बाल्दा, वेल्डिङ गर्दा, जंगलमा चुरोट खाएर जथाभावी मिल्काउने जस्ता लापर्वाहीले धेरैजसो आगलागी भएको पाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत आगलागी पीडितलाई क्षतिपूर्ति उपलव्ध गराउने जनाए ।

मानवीय र भौतिक क्षति हुँदा मूल्यांकन गरी राहत उपलव्ध गराइने बताए । उनले हाल समितिको कोषमा करिब एक करोड रुपैयाँ सन्चित रहेको जनाउँदै आगलागीसहित अन्य विपद्मा परेकालाई उक्त कोषको रुकम उपलव्ध गराइने जनाए । अन्नबाली र पशुको क्षतिमा चाहिँ क्षतिपूर्ति दिने प्रावधान नरहेको उनले जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्