झापा, पुष २०। आदिबासीको मानवअधिकार सम्बन्धी वकिल समूह(लाहुर्निप) माथि गंभीर आरोप लगाउँदै आदिवासी जनजाति महासंघका अध्यक्ष पाण्डवलाल चौधरीले झापामा उनीहरुको गतिविधिमाथि पूर्ण रुपमा बन्देज लगाउने चेतावनी दिएका छन् ।

सामाजिक संजालमार्फत लाहुर्निपको गतिविधिविरुद्ध उनले तीब्र विरोध जनाएका हुन् । उनले सामाजिक संजालमा लेखेका छन् ‘अब झापामा लाहुर्निपको नाममा आदिबासीहरुको नाम बेचिखानेहरु र आफ्नो पेट भर्नेहरुलाई पूर्ण रुपमा बन्देज गरिएको जानकारी गराउँदछु ।यो लाहुर्निप भन्ने संस्था कोशी नामभन्दा पनि खतरनाक रहेछ । हामी आदिबासीहरुलाई बेचिखाने हिडेको प्रमाण फेला परेकोले म सबै आदिबासी जनजाति र प्रदेश नम्बर १ का संघर्ष समितिमा अनुरोध र जानकारी पनि गराउँदछु कि यस्ता गतिबिधि गर्नेहरु हाम्रो अधिकारभन्दा पनि बिल भर्पाइ मिलाएर आफ्नो पेट भर्ने काम मात्रै गर्दा रहेछन् र म होसियार रहन पनि अनुरोध गर्दछु अनि आदिबासी जनजातिको नाम बेचिखाने लाहुर्निप जस्ता संस्थाहरु र आदिबासी जनजातिहरुलाई फुटाएर आफ्नो पेट भर्नेहरु आइन्दा झापामा बन्द रहनेछन् । यस्ता गतिबिधि गरेको भेटिएमा बहिष्कार र भौतिक कार्वाही पनि गरिने जानकारी गराउँदछु ।’

प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिका संयोजकसमेत रहेका चौधरीले जनजाति महासंघका पूर्व अध्यक्षहरुको नाम किटान गरेरै पूर्व अध्यक्षहरुले पहिचानको मुद्धालाई बदनाम गर्ने हिसाबले आदिबासी जनजातिहरुमा भ्रम फैलाउदै आन्दोलनमा नआउने अनि अदिबासी जनजातिको जिल्ला अध्यक्षले कमिसन बिल भर्पाइ मिलाएर खान दिएन भनेर आम आदिबासीहरुमा भ्रम फैलाएर बदनाम गरेको आरोप लगाएका छन् । मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोडको आरोपमा पक्राउ परेका चौधरी ८ दिनपछि रिहा भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्