झापा,पुष २२। झापाको मेचीनगर नगरपालिका बाहुनडाँगी क्षेत्रका बासिन्दा रातको समयमा भारतबाट आउने जङ्गली हात्ती र दिनको समयमा छाडा चौपायाका कारण हैरानी बेहोर्न बाध्य भएका छन् ।

मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार एकातिर हात्तीले र अर्कोतिर भारतबाट आउने छाडा चौपायाका कारण अन्नबालीमा धेरै नै नोक्सानी हुन थालेको छ । सीमाक्षेत्रमा भारततर्फ जङ्गल छ । जङ्गलमा खुला चरनका लागि भारतीयले गाईबस्तु छाड्ने र ती गाईबस्तु सोझै नेपाली बालीमा आउने गरेको छ ।

भारतीय किसानले गोठालाबेगर नेपाली बालीमा दिनरात गाईबस्तु छाड्ने गरेकाले नियन्त्रणका लागि वडाले जरिवाना तोकेको वडाध्यक्ष कार्कीले बताएका छन् । हैरान भएपछि बाध्य भएर खुला चौपाया छाडेको पाइएमा ५ हजार जरिवाना तोकिएको उनले बताएका छन् ।

पीडित नेपाली किसानहरूले भारतबाट नेपाल चरनका लागि आएका २० वटा भन्दा बढी छाडा चौपाया लिएर वडा कार्यालय आएर धर्ना दिएपछि नियन्त्रणका लागि प्रयासस्वरूप जरिवाना गर्ने निर्णय लिनुपरेको पनि कार्कीले स्पष्ट पारे ।

यस विषयमा सीमाक्षेत्रका किसानहरूलाई पनि वडा कार्यालयले जानकारी दिएको वडा कार्यालयले जनाएको छ । त्यस्ता चौपाया नियन्त्रणमा लिएर राखिने र जरिवाना तिरेर मात्र लैजान पाउने उनको भनाइ छ ।

स्थानीय अर्जुन रानाका अनुसार सीमाक्षेत्र भारतबाट आउने गाईबस्तुले सबै बालीनाली खाइदिने डरले कतिपय किसानले खेत बाँझै राख्ने गरेका छन् । खेतीभन्दा टाढा घर भएकाहरूले खेती नै लगाउन छाडेको उनले बताए । हात्ती र छाडा चौपायाका कारण दिनरात नभनी खेतमा बस्नुपर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्