बिर्तामोड , पुष २३ ।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन ( प्याब्सन )बिर्तामोडको पालिकास्तरीय साधारण सभा सम्पन्न भएको छ ।


साधारण सभामा प्याब्सनका पूर्व केन्द्रीय सदस्य गुरुभक्त न्यौपानेको प्रमुख आतिथ्य रहेको थियो । सह–सचिव देबेन्द्र हुमागाईले स्वागत गरेको कार्यक्रममा सचिव सुरेन्द्र खरेलले संगठनको वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सन झापाका सचिव हरिकृष्ण पाठकले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै वक्ताहरुले स्थानीय सरकारले संस्थागत विद्यालयले गरेको योगदानको मूल्यांकन गर्न कन्जुस्याइँ गरेको बताए । नगर प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनालको अध्यक्षता रहेको साधारणसभामा स्वागत मन्तब्य राख्दै सह–सचिव हुमागाईले स्थानीय सरकारले विभिन्न बहानामा दुःख दिने गरेको आरोप लगाए ।उनले कहिले परीक्षाको नाममा त कहिले छात्रवृत्तिको नाममा निजी विद्यालयलाई स्थानीय सरकारले दुःख गरेको उल्लेख गरे ।

अध्यक्ष खनालले कक्षा ११ र १२को छात्रवृत्ति पालिकाको निर्देशनबमोजिम बितरण गरिएको र विद्यालय ग्रेडिङको प्रस्तावलाई प्याब्सनले स्वीकार नगर्ने बताए । उनले एकता आवश्यक भएको बताउँदै संस्थागत विद्यालयलाई एकीकृत हुन आग्रह समेत गरे । बिर्तामोड नगरपालिकाभित्र ४८ वटा संस्थागत विद्यालय प्याब्सनमा आबद्ध रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्