झापा, पुष २३। सहकारीहरु मर्ज गर्नुको विकल्प नरहेको झापाका सहकारी अभियन्ताहरुले बताएका छन् ।

सहकारी अभियानलाई समस्यारहित ढंगले अघि बढाउने हो भने अहिलेको असहजतालाई चिर्दै एकत्रित भएर अघि बढ्नु पर्ने उनीहरुको जोड रहेको छ । झापाको कन्काई नगरपालिकाको दुर्गापुरमा आयोजित बचत तथा ऋण सहकारी संघ झापाको १२ औं वार्षिक साधारणसभामा बोल्दै राष्ट्रिय सहकारी महासंघका संचालक तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले झापामा रहेका प्रारम्भिक संस्थाहरुलाई दुईतिहाई घटाउने योजना रहेको बताए । उनले केही सहकारीमा एकीकरणपछि विभाजन आएकोले एकीकरणपूर्व गहन रुपमा छलफल गर्दा पछि समस्या नआउने बताए । उनले झापामा संख्याका हिसावले नाम मात्रका धेरै सहकारीहरु रहेकाले कुन सहकारी संस्था चलेको छ छैन त्यसलाई छानविन गरेर संस्था घटाउने अभियान संचालन गरिने जानकारी दिए । जीवी राई , सुधिर बस्नेतजस्ता १० जना फ्रडहरुका कारण सिंगो सहकारी अभियान बद्नाम भइरहेको बताउँदै उनले झापाका संचालकहरुले आफ्ना संस्थाबाट लिएको ऋण तिर्ने र अबदेखि ऋण नखाने नियम नै बनाइएको जानकारी दिए । शुद्धिकरणसंगै निजी क्षेत्रसंग सहकारीले प्रतिष्पर्धा गर्ने क्षमता अभिवृद्धि गरिनुपर्ने उनको जोड थियो ।

कार्यक्रममा बोल्दै कोशी प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगालले सहकारीहरुमा मात्र यतिवेला उतारचढाव आएको हैन , संसारभर नै आर्थिक समस्या आएको बताए । उनले सहकारीहरुमा पैसा नभएर समस्या नआएको भन्दै ऋण लिने र बचत गर्ने नहुँदा समस्या आएको सुनाए । उनले नआतिकन सहकारी संचालन गर्न संचालकहरुलाई आग्रह गरे । जिल्ला सहकारी संघका लेखा सुपरीवेक्षण समितिका संयोजक चुडामणि ओझाले एकीकरणका माध्यमबाट सहकारीलाई जोगाउन सकिने धारणा राखे । उनले भिन्न भिन्न विचार र मतबाट विभाजन नभई एकत्रित भएर सहकारीमा लगानी बढाउन आबश्यक भएको जोड दिए ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेले राज्य कठोर बन्दै गएको र सहकारीलाई घेरावन्दी गरिरहेकाले सजग भएर संचालकहरुले सहकारी चलाउनु पर्ने बताए । उनले अहिलेको दुई वर्षको भोगाईलाई शिक्षाको रुपमा लिनुपर्ने धारणा राखे ।

कार्यक्रममा दुईवटा संस्थालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा मेचीनगर ९ मा रहेको मेचीनगर बचत तथा ऋण सहकारी संस्था र बाह्रदशी ४ मा रहेको लक्ष्मीथान बचत तथा ऋण सहकारी संस्था रहेका छन् । बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन सहसचिव कमलकुमार घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्