झापा , पुष २४ । बाक्लो हुस्सु लागेका कारण विपरीत दिशाबाट आएको दुई मोटरसाइकल चालकले एकअर्कालाई नदेख्दा आपसमा ठोक्किएर महोत्तरीको औरहीमा दुर्घटना भएको छ ।

दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बर्दिबास–जलेश्वर सडक खन्डमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको र पछाडि सवार दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।

औरही नगरपालिका–१ वडा कार्यालय नजिक गएराति ९ बजे बर्दिबासबाट रामगोपालपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–००४प १८४० नम्बरको पल्सर मोटरसाइकल र रामगोपालपुरबाट बर्दिबासतर्फ आउँदै गरेको ज ११ प ८०९९ नम्बरको डिस्कभर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा पल्सर मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका थली विर्ताका ३० वर्षीय मुकेश चमार र डिस्कभर मोटरसाइकल चालक भंगहा नगरपालिका–३ का ३२ वर्षीय धर्मेन्द्र महतोको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा प्रहरीले पुर्याएको थियो । गम्भीर घाइते दुवै जनाको केहीबेरमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा भंगहा नगरपालिका–५ विर्ता पलारका ३१ वर्षीय श्रीराम गोसाई र बर्दिबास नगरपालिका प्रेमनगरका २६ वर्षीय प्रदीपकुमार यादव रहेका छन् ।गएराति हुस्सु लागेर एकअर्कालाई देख्न नसक्दा तीव्र गतिमा आएका दुवै मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्