झापा,पुष २४ । धानको उत्पादकत्वमा आएको सुधारसँगै गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन सवा दुई लाख टन बढी भएको छ । उन्नत बीउको बढ्दो प्रयोग, सिँचाइमा विस्तारसँगै मलखादको समेत सहजता भएपछि धानको उत्पादकत्व बढेको कषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
‘चालु आर्थिक वर्षमा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको छ । यो परिमाण गत आर्थिक वर्षको तुलनामा ४.३३ प्रतिशतले बढी हो,’ मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले भने, ‘धान उत्पादन बढ्नुको प्रमुख कारण उत्पादकत्वमा वृद्धि नै हो ।’ गत आर्थिक वर्षमा ५४ लाख ८६ हजार ४ सय ७२ टन धान फलेको थियो । अहिले २ लाख ३७ हजार ७ सय ६२ टन उत्पादन बढेको मन्त्रालयको भनाइ छ । विगत चार वर्षको औसत उत्पादन तुलना गर्दा यस वर्ष ५.०८ प्रतिशतले वृद्धि भएको छ । चार वर्षको औसत धान उत्पादन ५४ लाख ४७ हजार ४ सय २१ टन हो । उत्पादन बढ्नुमा उन्नत बीउको उपलब्धतासँगै रोग–किरा प्रकोप र बाढी–पहिरोले धान बालीमा पार्ने नकारात्मक असर कमी रहेको मन्त्रालयको दाबी छ । मलखादको उपलब्धतामा आएको सुधार, कृषि औजार र प्रविधिको प्रयोगलाई पनि उत्पादन बढ्नुको कारक मानिएको छ ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.९८ टन हो । गत वर्ष प्रतिहेक्टर ३.७९ टन थियो । औसत चार वर्षको उत्पादकत्व भने ३.७२ टन रहेको मन्त्रालयले जनाएको छ । मधेशबाहेक सबैतिर उत्पादकत्व बढेको रेग्मीले बताए । तर बढी धान फल्ने मधेशमा केही समस्या देखियो । मधेशका आठमध्ये तीन जिल्लामा ढिला गरी धान रोपाइँ हुँदा यस वर्ष उत्पादनमा दोस्रो नम्बरमा परेको उनको भनाइ छ ।

‘विगतमा धान उत्पादन हुने सबैभन्दा अगाडि मधेश प्रदेश हुन्थ्यो । तर यस वर्ष धान रोप्ने समयमा पर्याप्त वर्षा नहुँदा समग्र मधेशको उत्पादन र उत्पादकत्वमा कमी आयो,’ वरिष्ठ तथ्यांक अधिकृत रेग्मीले भने, ‘फलस्वरूप, उत्पादनमा पहिलो नम्बरमा पर्ने मधेश दोस्रोमा झर्नुप¥यो ।’
मन्त्रालयका अनुसार यस वर्ष मधेशमा १३ लाख ३७ हजार ६ सय ७२ टन धान फल्यो । यहाँको धान उत्पादकत्व प्रतिहेक्टर ३.४९ टन रहेको जनाइएको छ । गत वर्ष मधेशको धान उत्पादकत्व ३.७० टन थियो । यस वर्ष सबैभन्दा बढी धान कोशीमा १४ लाख ३५ हजार ५ सय ७८ टन फलेको छ । तेस्रोमा लम्बिनीमा १३ लाख १० हजार ८ सय २९ टन उत्पादन भएको मन्त्रालयले बताएको छ ।

धान उत्पादन बढे पनि वार्षिक मागको धान उत्पादन करिब १० लाख टन अपुग नै रहेको रेग्मीको भनाइ छ । स्वदेशमा अपुग हुँदा धान–चामल अर्बौं रुपैयाँको आयात हुने गरेको छ । ‘जनसंख्या वृद्धिसँगै वार्षिक रूपमा अझै १० लाख टन अपुग छ,’ रेग्मीले भने, ‘समग्रमा खपतको करिब १५ प्रतिशत आयात गर्ने गरिएको छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्