भद्रपुर, पुष २५ । झापाका प्रहरी चौकीमा नयाँ नेतृत्व फेरिएसंगै मालबाहक सवारीसाधनबाट अवैध असुलीको नयाँ शैली अपनाउन थालिएको गुनासो आउन थालेको छ ।

राजमार्गआसपास तथा भित्री सडकका छेउमा रहेका प्रहरी चौकीमा प्रमुख फेरिएसंगै सेटिङ मिलाउन भन्दै घुमुवाले मालबाहक सवारीसाधनका चालक तथा सहचालकलाई भेट्न बोलाएको गुनासो आउन थालेको हो ।

झापाका उत्तर दक्षिण सडकमा चल्ने अधिकांश ढुवानी सेवाका सवारीसाधनसित प्रहरी चौकीका नेतृत्वले सहज वातावरणका नाममा रकम असुल्ने गरेको विगतलाई नयाँ नेतृत्वले नवीकरण गर्न बोलाइरहेको एक चालकले जानकारी दिएका छन् । उनका अनुसार व्यापारिक प्रयोजनमा कुद्ने मिनी ट्रक, छोटा हात्ती, ट्रयाक्टरदेखि अटोसम्मका सवारीसाधनबाट कमाइ क्षमताका आधारमा मासिक नजराना उठाइने गरेको छ । हरेक पटक नयाँ नेतृत्व आएसंगै नजराना असुलीमा नयाँ–नयाँ शैली अपनाएर रकम बढाइने गरेको चालकहरूको गुनासो छ ।

यस घटनाले नेपाल– भारत सीमा नाकाबाट अबैध सामान ओसार पसार गर्ने सवारीसाधनबाट मोटो रकम असुल्ने प्रहरी चौकीको सिको गर्दै ग्रामीण सडकमा गुड्ने सवारीसाधनबाट समेत रकम माग्ने गरेको रहस्य बाहिर आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्